फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले बेइजिङ भ्रमणको क्रममा अमेरिकासँग आफ्नो देशको सम्बन्धविच्छेद भएको घोषणा गरेका छन्।

‘अमेरिका हारिसकेको छ,’ चीन पुगेका डुटेर्टेले भने, ‘मैले आफूलाई तपाईंको विचारधारामा एकीकरण गरिसकेको छु र म राष्ट्रपति पुटिनसँग कुरा गर्न रुस पनि जानेछु र भन्नेछु, चीन, फिलिपिन्स र रुस बाँकी संसारको विपक्षमा छ। यही एक मात्र बाटो हो।’

केही महिनाअघिसम्म फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरलाई लिएर तीव्र विवाद थियो। अझ अन्तर्राष्ट्रिय अदालतले सो क्षेत्रको विवादलाई लिएर चीनविरुद्ध फैसला गरेपछि त चीन र फिलिपिन्सको सम्बन्ध इतिहासमै सबैभन्दा चिसो बनेको थियो। तर त्यो कुरालाई बिर्सिदैँ डुटुर्टेले चीनसँग सम्बन्धको नयाँ सुरुवात गर्ने प्रयास थालेका छन्। चार दिने भ्रमणका लागि चीन पुगेका बेला बेइजिङमा उनले फिलिपिनी समुदायका मानिसहरुलाई सम्बोधन गर्दै अमेरिकाका बारेमा भने, ‘तिमी आफ्नै फाइदाका लागि मेरो देशमा थियौ। त्यसैले यो गुडबाई माइ फ्रेन्ड भन्ने बेला हो।’

चीनमा आफ्ना समकक्षी सी जिनपिङसँगको भेटपछि दुई देशबीच अनेकौँ सम्झौता भएका छन्। दुवै देशबीच बिहीबार पूर्वाधार निर्माण, कृषि, उद्योगलगायतका क्षेत्रमा १३ सम्झौतामा हस्ताक्षर भएको छ।

चीनसँग दक्षिण चीन सागरबारे मतभेद भए पनि व्यापारिक फाइदाका लागि उनले त्यसलाई बिर्सिने छाँट देखाएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्। उनले चीनले कहिल्यै पनि आफ्नो देशको शान्ति खल्बल्याउन नखोजेको भन्दै यसअघि नै चीनको प्रशंसा गरेका थिए।
गत सेप्टेम्बरको सुरुवातमा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सम्भावित भेटअघि डुटेर्टेले उनलाई ‘वेश्यापुत्र’को संज्ञा दिएका थिए। सोही कारणले ओबामा–डुटेर्टे भेट रद्ध भएको थियो। त्यसपछि अमेरिका–फिलिपिन्सबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासलाई पनि उनले रद्ध गरेका थिए।

फिलिपिन्सले लागुऔषधविरुद्धको अभियानमा व्यापक मानवअधिकार उल्लंघन गरेको भन्दै वाशिंगटनले उनको आलोचना गरेपछि उनले उक्त कदम चालेका थिए। दक्षिण चीन सागरमा अमेरिकी नीतिको बलियो समर्थक फिलिपिन्सले अचानक आफ्नो गठबन्धन परिवर्तन गरेपछि अमेरिकाले सो क्षेत्रमा थप चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। एजेन्सी

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार