चिनियाँ राष्ट्रपति एंव चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीनलाई विश्व अर्थतन्त्रको निकै शक्तिशाली राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चीनको राजधानी बेइजिङमा सोमबार सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा सिले यस्ताे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
साथै साे बैठकले आर्थिक क्षेत्रमा विश्व इतिहासमै नयाँ क्रान्ति ल्याउने योजना पनि ल्याउने भएकाे छ ।

यसअनुरूप चिनियाँ राष्ट्रपति सि चीनलाई विश्व अर्थतन्त्रको पहिलो राष्ट्र बनाउने योजनामा छन् । उक्त बैठकमा विशेषतः पार्टीको आर्थिक पारदर्शिता तथा पार्टी नेता र कार्यकर्ताको अनुशासन/आचरणका विषयमा छलफल चलेकाे छ ।
बैठकले पार्टीलाई आर्थिक रूपमा पारदर्शी बनाई त्यहीबाट विश्व आर्थिक क्रान्तिको नेतृत्वकर्ता राष्ट्रका रूपमा विकसित बनाउने तयारी गरेकाे बताइएकाे छ।
‘चिनियाँ कम्युनिस्ट पार्टीलाई आर्थिक मेरुदण्डका रूपमा विकास गरेर विश्वमा आर्थिक रूपमै छलाङ मार्ने चिनियाँ जनताको सपना हो, त्यो सपना पूरा गर्नेछु,’ सीले भनेका छन्- ‘म अहिले जुन पद, प्रतिष्ठा र शक्तिमा छु त्यो चिनियाँ जनता र चिनियाँ कम्प्युनिस्ट पार्टीको देन हो । त्यसैले पार्टी र चिनियाँ जनताको शून्य सहनशीलता अपनाउने जुन सोच र सपना छ त्यसलाई पूरा गर्नका लागि म प्रतिबद्ध छु र बैठकमा सहभागी हुने ४०० भन्दा बढी नेता–कार्यकर्तालाई यही अवधारणाअनुरूप अघि बढ्न आह्वान गर्छु ।’
बेइजिङ विश्वविद्यालयका प्राध्यापक माओ सोलुङले विश्लेषण गर्दै भनेका छन्, शून्य सहनशीलता र देशको आर्थिक वृद्धिदर अरू राष्ट्रपतिको कार्यकालभन्दा पिङको कार्यकालमा निकै सफल रहेको मान्न सकिन्छ ।
यो बैठकले चिनियाँ आर्थिक नीतिलाई बढावा दिने, चीनलाई आर्थिक रूपमा माथि उठाउने शून्य सहनशीलता लागू गर्ने, पार्टीका नेता–कार्यकर्तालाई अनिवार्य रूपमा उत्पादनसँग जोड्ने र पार्टीको यही नीतिलाई नै सम्पूर्ण देशको उत्पादनको आर्थिक वृद्धिसँग जोडेर पूर्ण रूपमा लागू गर्ने योजना बनाएको जनाइएको छ ।
अार्थिक रूपले अमेरिकालार्इ उछिन्न लागेकाे चीनले सार्वजनिक गरेकाे याे याेजनाबाट विश्व राजनीतिक रंगमंचमा नयाँ तरंग ल्याउने भएकाे छ ।







