बिहीबार भारतले पाकिस्तान उच्चायुक्तका एक अधिकारीलाई जासुसी गरेको अभियोगमा भारत छाेड्न दिएकाे १४ घण्टापछि पाकिस्तानले पनि अाफ्नाे देश छाड्न भारतीय अधिकारीलार्इ अल्टिमेटम दिएकाे छ ।
आफ्ना अधिकारीलाई देश छाड्न दिएको आदेशलगत्तै पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायुक्तका अधिकारी सुरजीत सिंहलाई देश छाड्ने आदेश दिएको हाे ।

हिन्दी बीबीसीका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ती निकालेर सुरजीत सिंहलाई ‘परसोना नन ग्राटा’ घोषित गरेको जनाएको छ। विदेश मन्त्रालयले भारतीय उच्चायुक्तलाई पत्र पठाएर पाकिस्तान सरकारको फैसला सुनाएको हो ।
विज्ञप्तीमा भारतीय अधिकारीको गतिविधिमाथि पाकिस्तानले चिन्ता जनाएको छ । पाकिस्तान सरकारले सुरजीत सिंह र उनका परिवारलाई २९ अक्टोबरसम्म पाकिस्तान छोड्ने आदेश दिइएको छ ।
भारतले पाकिस्तान उच्चायुक्तका अधिकारी महमुद अख्तरलाई ४८ घन्टाभित्र भारत छोड्नका लागि भनेको छ । महमुद अख्तरमाथि भारतविरुद्धका जासुसी गतिविधिमा सामेल भएको भन्दै उनलाई देश छाड्न भनिएको थियो ।
भारतीय विदेश मन्त्रालयले बिहीवार पाकिस्तान उच्चायुक्त अब्दुल बासितलाई बोलाएर उनका एक अधिकारी जासुसी गतिविधिमा सामेल भएको भन्दै ४८ घन्टाभित्र भारत छोडाउन लिखित पत्र दिएको थियो ।
दुबै देशले एक अर्काका प्रतिनिधीहरूलार्इ देश छाड्न दिएकाे अादेशसँगै भारत र पाकिस्तान चरम मुठभेडमा उभिएका छन् ।







