पछिल्लो दिनमा विश्वको प्रमुख सम्पन्न देश मानिएको अमेरिकमा क्रान्तिकारी माओवादी युवाहरु जुर्मुराउन थालेका छन् ।
यही वर्ष खासगरी सन् २०१६ भित्र अमेरिकामा विभिन्न नामका क्रान्तिकारी संगठनहरु माओवादलाई मुख्य वैचारिक प्रस्थापना मान्दै जुर्मुराउन थालेका हुन् ।

हालै केही दिन अघि मात्र अमेरिकामा रेभुल्सनरी स्टुडेन्ट अर्गनाइजेशन नापाको नाममा क्रान्तिकारी युवा विद्यार्थीहरु संगठित भएका छन् ।
क्रान्तिकारी विचारहरु प्रवाह गर्ने एक अन्तर्राष्ट्रिय वेभसाइट ‘रेड स्पार्क’का अनुसार अमेरिकाको क्यालिफोर्नियास्थित नापा काउन्टीमा रहेका क्रान्तिकारी विद्यार्थीहरुले क्रान्तिकारी विद्यार्थी संगठन निर्माण गरेका हुन् ।
एउटा लामो अपिल लेख्दै क्रान्तिकारी विद्यार्थी संगठन नापाको नामबाट उनीहरुले अमेरिकामा रहेका सम्पूर्ण परिवर्तनकारी विद्यार्थी युवाहरुलाई क्रान्तिकारी संगठनमा आवद्ध हुन आग्रह गरेका छन् ।
उनीहरुले आफ्नो युवा विद्यार्थीका समस्याहरु कुनै एउटा समुदाय र संगठनको मात्र नभएको भन्दै सबैको समाधान वर्गीय मुक्ति आन्दोलनले मात्र गर्ने कुरा उल्लेख गरेका छन् ।
माओले युवाहरुबारे बोलेको चर्चित भनाई ‘यो संसार तिम्रो पनि र हाम्रो पनि हो । खासमा युवाहरुको हो’ भन्ने भनाईलाई मुख्य रुपमा उदृत गर्दै अमेरिकाको यो क्रान्तिकारी विद्यार्थी संगठन नापाले पुँजीवादको अन्त्य र समाजवादको स्थापनाले मात्र सम्पूर्ण उत्पीडित वर्ग र समुदायको मुक्ति हुने उद्घोष गरेको छ ।
यसबाहेक अमेरिकामा हालै यही वर्षभित्र ‘माओइस्ट ग्रुप, युएसए’, ‘रेड गार्ड, अस्टिन’ र ‘माओइस्ट ग्रुप, ताकोमा’ जस्ता जुझारु युवाहरुको संगठन निर्माण भएका छन् ।
यी सबै संगठनले माओवादलाई मुख्य वैचारिक हतियार मानेर संगठन स्थापना गरेका छन् ।
अमेरिकामा यी संगनहरुमध्ये क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिका (आरसीपी) सबैभन्दा ठूलो र पूरानो माओवादी पार्टी हो ।
सन् १९७४ देखि संचालनमा आएको यो पार्टीका अध्यक्ष बब अभायकिनले सिंगो विश्वको माओवादी आन्दोलनमा ठूलो योगदान गरेका छन् । उनै अभायकिनले क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) को नेतृत्व समेत गरेका थिए ।
हालै साम्राज्यवादको नाइके देश अमेरिकामा क्रान्तिकारी माओवादी युवाहरु संगठित हुन थालेपछि सिंगो विश्वमा नयाँ क्रान्तिकारी आशाको लहर फैलिन थालेको छ ।







