चीनमा बनेको विश्वकै अग्लो मोटरेबल पुल सञ्चालनमा आएको छ। जमीनदेखि मापन गर्दा विश्वकै अग्लो यो पुलमा यातायात सेवा खोलिएको हो ।

स्थानीय अधिकारीका अनुसार बेइपानजियाङ्ग पुलले देशको पहाडी दक्षिण-पश्चिमी भागको दुई प्रान्तलाई एकापसमा जोडेको छ । यो पुलका कारण यी दुई प्रान्तको यात्रा पनि लगभग एक-चौथाईमा घटेको छ।
गीझु प्रांतीय यातायात विभागले आफ्नो आधिकारिक वेबसाइटमा एक विज्ञप्ती प्रकाशित गर्दै एक नदीमाथि बनाइएको बेइपानजियाङ्ग पुलको उचाई ५६५ मिटर (१८५४ फिट) अग्लो रहेको छ । यो पुलले पहाडी प्रान्त युन्नान र गिझुलाई जोडेको छ।
बिहीबार पुललाई यातायातका लागि खोलिएको हो । सरकारी समाचार एजेन्सी सिन्ह्वाले डुआन नामका ट्रक ड्राइभरलाई उधृत गर्दै दिएको समाचार अनुसार युन्नानको शुआनवेई र गिझुको शुईचेङ्गबीच यात्रा गर्न अहिलेसम्म चार घन्टा लाग्थ्यो भने पुल बनेपछि यो यात्रा एक घन्टामा छोटिएको छ ।

स्थानीय समाचारपत्र ‘गिझु डेली’ का अनुसार, १३४१ मिटर लामो यस पुलको लागत एक अर्ब युआन (१४ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै रहेको छ ।
प्रान्तीय यातायात विभागद्वारा जारी एक वक्तब्यमा यसभन्दा अघि मध्य चीनको हूबेई प्रान्तमा बनेको सि डु रिभर पुल विश्वकै अग्लो पुलका रुपमा थियो । तर अब बेइपानजियाङ्ग पुल विश्वकै सबैभन्दा अग्लो पुलका रुपमा ठडिएको छ ।
विश्वकै अग्ला पुलहरुमध्ये कयौँ अहिले पनि चीनमै बनिरहेका छन् । तर आफ्नो ढाँचाको उचाईका आधारमा भने (जमीनबाट होइन) विश्वकै अग्लो पुलका रुपमा फ्रान्सको मिल्लाऊ वायाडक्ट रहेकोछ । जसको संरचनाको उचाई ३४३ मिटर रहेको छ ।









