फिलिपिन्सको माओवादी पार्टीले त्यहाँको सरकारले वार्ताका क्रममा अनगिन्ति धोका दिएका कारण अब आफ्नो पार्टी जनयुद्धतिर जान बाध्य हुने धम्की दिएको छ ।

फिलिपिन्स कम्युनिस्ट पार्टी माओवादीको ४८ औं वार्षिकोत्सवको अवसरकै क्रममा सोर्सोगन प्रान्तमा रहेको माओवादी पार्टी र जनसेना कमाण्डले हालै लामो एक सन्देश जारी गरेर यस्तो चेतावनी दिएको हो ।
डुर्टेटको सरकारले वार्ताका क्रममा गरेका वाचा र प्रतिबद्धताहरु पूरा नगरेको भन्दै फिलिपिन्सको माओवादीले वर्तमान सरकार सम्पूर्ण रुपले असफल भएको बताएको छ ।
फिलिपिन्सको माओवादीले सरकारको धोका अनगिन्ति भएको, जसका कारण अब जनसेनालाई बलियो बनाउने र जनयुद्धतिर जाने बाटो अबलम्बन गर्नु पर्ने बताएको छ ।
यही सन्दर्भमा फिलिपिन्स कम्युनिस्ट पार्टीले अर्को लामो विज्ञेप्ती जारी गरेर जनताको सेनाबिना जनताको आफ्नो भन्ने केही पनि हुँदैन भनेर प्रष्ट पारेको छ ।
युद्धविराम र वार्ता फरक ढंगको युद्धमोर्चा भएको भन्दै फिलिपिन्सको माओवादी र जनसेनाले आफुहरुले व्यर्थैमा ४८ वर्ष नगुमाएको बरु थुप्रै अनुभवहरु संगालेर नयाँ ढंगले क्रान्ति गरिरहेको बताएको छ ।
फिलिपिन्सको माओवादीले राजनीतिलाई शीर्षस्थानमा राखेर संघर्ष गरिरहेको पनि बताउने गरेको छ ।
पछिल्लो समयमा आएर फिलिपिन्समा विदेशी हैकम निकै माथिबाट लादिएको भन्दै फिलिपिन्सको माओवादीले अहिले विकास भएको दलाल पुँजीवादलाई अन्त्य गर्न आवश्यक भएको समेत बताउने गरेको छ ।







