उत्तर कोरियाले आफू जुनसुकै बेला अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गर्न सक्षम रहेको बताएको छ।
उत्तर कोरियाको हतियार क्षमता विकास हुनुमा अमेरिकाको शत्रुतापूर्ण नीति जिम्मेवार रहेको पनि उसले आरोप लगाएको छ।

‘आइसिबिएम उत्तर कोरियाको सर्वोच्च मुख्यालयको आदेशअनुसार जुनसुकै स्थान र समयमा परीक्षण गर्न सकिन्छ,’ विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै उत्तर कोरियाको समाचार सँस्थाले जनाएको छ।
‘उत्तर कोरियालाई आइसिबिएमको विकासका लागि बाध्य बनाउने सम्पूर्ण दोष अमेरिकाको हो,’ ती प्रवक्ताले भनेका छन्, ‘उत्तर कोरियासँग व्यवहार गर्नेलाई यो कुरा राम्ररी बुझेर नयाँ सोच विकास गर्न सल्लाह दिइन्छ।’
अमेरिकी रक्षा सचिव एस कार्टरले आइतबार नै उत्तर कोरियाको आणविक सफलताले अमेरिकालाई ‘गम्भीर चुनौती’ दिएको र आफूहरु उत्तर कोरियाली मिसाइललाई खसाल्नका लागि तयार रहेको बताएका छन्।
उत्तर कोरिया सन् २००६ देखि नै आणविक हतियार विकासका कारण संयुक्त राष्ट्रसंघको नाकाबन्दीमा रहँदै आएको छ। गत सेप्टेम्बरमा उसले पाँचौँ आणविक परीक्षण गरेपछि नाकाबन्दीमा झनै कडाइ गरिएको छ।
एजेन्सीको सहयोगमा







