सेन्ट्रल रिजर्भ फोर्सअन्तर्गत भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको र मूलतः बिहार अनि भारतको ऊतर-पूर्वमा परिचालन गरिएको ‘कमान्डो बटालियन फर रिसोलुट एक्सन’ (कोब्रा) फोर्सका ५९ जवान सोमबार बेलुकादेखि गायब भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू सबै बिहार र उत्तर प्रदेशसित सम्बद्ध जवानहरू हुन् ।

माओवादी दबाउने विशेष कमान्डो तालिमका लागि उनीहरूलाई जम्मु कश्मिरको श्रीनगरमा पाँच हप्ते तालिमका लागि पठाइएको थियो । तालिमपछि रेलबाट गयास्थित कोब्रा फोर्स क्याम्पका लागि पठाइएका उनीहरू बीच बाटोबाटै रातको समयमा योजनाबद्ध ढंगले गायब भएका छन् ।
तालिमको क्रममा कोही एकाध भागे पनि र कतिपय घर गएपछि नफर्किने गरेको भए पनि यसरी योजनबद्ध ढङ्गले ५९ जना नै गायब हुनु रहस्यमय र प्रश्नको विषय भएको कुरा पनि भारतीय माध्यमहरूले उल्लेख गरेका छन् ।
प्रहरी प्रमुखको हवाला दिँदै माध्यमहरूले उनीहरूको खोजी भइरहेको र कमान्डबाहिर गएर बिनाइजाजत त्यसरी हिँडेकाले ‘कोर्ट अफ इन्क्वारी’ गर्ने घरै गएका भए पनि उनीहरूमाथि कारबाही हुने कुरा जनाएका छन् । उनीहरू घर गएको भनिए पनि अहिलेसम्म उनीहरूबारे केही जानकारी नभएको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।
उनीहरूका साथ हतियार नभएको कुरा पनि माध्यमहरूले जनाएका छन् । कोब्रा फोर्स माओवादी दमनका लागि २००९ मा गठन गतिएको थियो ।
जनमेलबाट ।







