सन् १९९० मा सोभियत महासंघको विघटनपछि रुसमा कम्युनिस्ट पार्टी छ या छैन भन्नेबारे धेरैलाई जानकारी छैन ।

तर अहिले पनि रुसमा कम्युनिस्ट पार्टी छ । जसले संसदमा दोस्रो ठूलो दलको रुपमा प्रतिनिधित्व गर्दछ । कम्युनिस्ट पार्टी रसियन फेडेरेशन नाम रहेको सो पार्टीको अहिले १ लाख ६० हजार सदस्य रहेको छ ।
सो पार्टीको अफिसयल वेभसाइट सीपीआरएफ डट आरयुका अनुसार ८१ वटा रिजनल पार्टी ब्रान्च रहेका छन् । अनि करिब १४ सय प्राइमरी पार्टी संगठन रहेको पनि सो साइटमा देखाइएको छ ।
सन् १९९३ देखि रसियन फेडेरेशनको फेडरल एसेम्बलीमा स्टेट डुमामा उनीहरुले आफ्नो प्रतिनिधित्व जनाइरहेका छन् । अहिले पनि स्टेट डुमामा दोस्रो ठूलो पार्टीको हैसियत राखेको छ ।
४५० सिट रहेको स्टेट डुमामा रसियन कम्युनिस्टहरुको सिट संख्या ९२ रहेको छ । त्यसैगरी उनीहरुले संसदको अर्को सदनमा ७९ जना सदस्य प्रतिनिधित्व गर्दछन् ।
वास्तवमा कम्युनिस्ट पार्टी रसियाको स्थापना सन् १९९० को जुनमा भएको हो । सन् १९९१ मा रुसमा सोभियत संघको विघटनसँगै कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाइएको थियो ।
पछि सन् १९९३ मा पुगेर कम्युनिस्ट पार्टी रसियाको सेकेन्ड कंग्रेसले पार्टीलाई पुनगर्ठित गर्यो । त्यही वर्षको मार्चमा कम्युनिस्ट पार्टी रसिया फेडेरेशनको पुनर्गठन गर्यो ।
रसियन कम्युनिस्ट पार्टीको पृष्ठभुमि सन् १८९८ मा अखिल रसियाली सामाजिक मजदुर पार्टीको रुपमा गठन भएको थियो । पछि रुसमा सन् १९१७ को अक्टोबर क्रान्तिपछि नाम बदलेर रसियन कम्युनिस्ट पार्टी बनाइएको थियो ।
हाल रुसमा त्यही पार्टीको निरन्तरतामा कम्युनिस्ट पार्टी रसिया फेडेरेशन क्रियाशिल रहेको छ ।







