छिमेकी भारतसँग तनावयुक्त सम्बन्ध रहेको पाकिस्तानले उत्तरी छिमेकी चीनबाट हवाई रक्षा प्रणाली भित्र्याएको छ। यसले भारतलाई तनाव पैदा भएको बताइएको छ ।

पाकिस्तानले आफ्नो हवाई रक्षा प्रणालीलाई बलियो बनाउन तथा छिमेकीसँगको खतरासँग जुध्नका लागि आइतवार चीनमा निर्मित जमिनबाट हावामा मार हान्ने उन्नत मिसाइल रक्षा प्रणालीलाई आफ्नो सैन्य सयन्त्रमा सामेल गरेको हो ।
पाकिस्तानी सेनाबाट जारी विज्ञप्तीमा उल्लेख गरिएअनुसार न्यूनतमबाट मध्यम उचाई वायु रक्षा प्रणाली (एलओएमएडीएस) एलवाई ८० लाई सैन्य प्रणालीमा सामेल गरिएको हो ।
सेना प्रमुख जनरल कमर जावेद बाजवाको उपस्थितिमा रावलपिन्डीमा सेनाले गरेको एक समारोहका क्रममा यसलाई सेनामा सामेल गरिएको हो । एलवाई ८० एक चिनियाँ मोबाइल हवाई रक्षा प्रणाली हो। यस अवसरमा बाजवाले एलवाई ८० एलओएमएडीएसबाट आफ्नो जवाफी क्षमतामा वृद्धि हुने बताएका छन् ।
एलवाई-८० एक चिनियाँ वायु रक्षा प्रणाली हो जसले छोटो र मध्यम उचाईमा उड्ने कयौँ लक्ष्यलाई पछ्याएर नष्ट गर्न सक्षम रहेको छ। जनरल बाजवाले भने, “एलवाई-८० बढ्दो वायु रक्षा चुनौतीसँग जुध्दै हाम्रो प्रतिक्रिया क्षमता बढाउन सक्षम हुनेछ ।”
बाजवासँगै आर्मी एयर डिफेन्स कमानका कमाण्डर लेफ्टिनेन्ट जनरल मुहम्मद जाहिद लतिफ मिर्जा पनि यो कार्यक्रममा सामले थिए ।







