के अमेरिका उत्तर कोरियालाई पराजित गर्न सक्षम छ ?

शक्तिशाली अाणविक हतियारका साथ उत्तर कोरियाली सेना
यो प्रश्न अमेरिकासँग निकै महत्वपूर्ण बनेर उभिएको छ । चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेट गर्न थालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक समस्या सुल्झाउन आफु एक्लै सक्षम रहेको बताएका छन् ।
‘यदि चाइनाले उत्तर कोरियाको समस्या सुल्झाउन सक्दैन भने, हामी सुल्झाउछौं । म यत्ति भन्न चाहन्छु’, ट्रम्पले बेलायती पत्रिका फाइनान्सियल टाईम्सलाई दिएको अन्तर्वार्ताको क्रममा भनेका छन् ।
यसअघि आफ्नो पहिलो एसिया भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियालाई पराजित गर्ने दुई दशकयताको पश्चिमा कूटनीति विफल भएको बताएका थिए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि चीनको बढी प्रभाव रहेको बताउँदै चीनले अमेरिकालाई सहयोग गर्ने या नगर्ने भन्ने निर्णय लिनुपर्ने उल्लेख गरे ।
चीनले मद्दत गरे त्यो उसका लागि पनि राम्रो हुने बताएका ट्रम्पले त्यसो नगरे कसैलाई राम्रो नहुने जवाफ दिए । उत्तर कोरियाको परमाणु विकासविरुद्ध श्रृंखलाबद्ध चेतावनी दिइरहेको अमेरिकाका राष्ट्रपतिले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।
प्योङयाङले अमेरिकी मुख्य भूमिसम्मै मार हान्न सक्ने क्षमताको लामो दूरीको परमाणु क्षेप्यास्त्र विकास गर्न अन्ततः सफलता पाउन सक्ने चिन्ताहरु व्यक्त भइरहेका छन् । उत्तर कोरियाको एकमात्र अन्तर्राष्ट्रिय साझेदार रहेको चीनले उसको पछिल्लो क्षेप्यास्त्र परीक्षणविरुद्ध भने केही प्रतिबन्धात्मक कारबाही गरेको छ ।
गएको फेब्र अरीमा चीनले उत्तर कोरियाको मुख्य आय श्रोत रहेको कोइला सन् २०१७ को अन्त्यसम्म नकिन्ने निर्णय गरेको थियो । तर, राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपतिलाई उत्तर कोरियामाथि थप कदमहरु चाल्न दबाब दिने ठानिएको छ ।







