अमेरिकाले सारा विश्व मिलेर उत्तर कोरियालाई सैन्य बलद्धारा ठीक गर्नुपर्छ भन्ने राखेको प्रस्तावलाई रुस र चीनले कडा रुपमा अस्वीकार गरेको छ । रुस र चीनका वरिष्ठ अधिकारीलेले उत्तर कोरियाविरुद्ध सैन्य बल प्रयोग गरिए त्यो विश्वका लागि अस्वीकार्य र खतरनाक हुने बताएका छन् ।

रुसी सहायक विदेशमन्त्री गेनेडी गेटीलोवले संयुक्त राष्ट्रसंघको बैठकमा उत्तर कोरियाका विरुद्ध कुनै हालतमा सैन्य बल प्रयो गर्न नहुने बताएका हुन् । उनले उत्तर कोरियाले अगाडि बढाएको आणविक कार्य बेठीक भएको भएपनि त्यसका लागि कुटनीतिक तरिका अपनाउनु पर्ने बताएका छन् ।
‘यही समयमा सैन्य बल प्रयोग निकै अस्वीकार्य छ’ रुसी सहायक विदेशमन्त्री गनेडीले भनेका छन्- ‘कुटनीतिक तरिकाहरु अपनाउनु नै सही तरिका हो ।’
यसैबीच संयुक्त राष्ट्रसंघकै बैठकमा चीनका विदेशमन्त्री वाङ यीले पनि उत्तर कोरियामाथि बल प्रयोग गरिए त्यसले एशिया प्यासिफिक क्षेत्रमा ठूलो खतरा निम्ताउने बताएका छन् ।
चीनले पनि कोरियाली प्रायद्धीपमा वार्ता र कुटनीतिको बाटो अपनाउनु पर्नेमा जोड दिएको छ ।
अहिलेको विश्व शक्ति सन्तुलनमा अमेरिका, जापान र पश्चिमा शक्ति एकातिर छन् भने रुस, चीन र उत्तर कोरियालगायत मध्यपूर्वका धेरै देश सामेल छन् ।
उत्तर कोरियाली प्रायद्धीपमा देखा परेको संकटले सिंगो विश्व विभाजित बन्दै गएको छ ।







