अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गर्ने धम्की दिएको छ ।

हालै संविधानसभा निर्वाचनबाट अघि बढेको भेनेजुएलालाई अमेरिकाले देशमा संकट जारी रहेको भन्दै संकट समाधानका लागि यस्तो आक्रमणको धम्की दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको संकट समाधान गर्न सैन्य उपाय नै एकमात्र विकल्प रहेको बताएका छन्। न्यू योर्कमा एकजना संवाददाताको प्रश्नको जवाफ दिँदै ट्रम्पले यस्तो बताएका हुन् ।
“अमेरिकाको सेना संसारभर छ, भेनेजुएला त्यति टाढा छैन।” उनले भनेका छन्, “अमेरिकासँग समाधानका धेरै उपाय छन् त्यसमध्ये एक सैन्य उपाय पनि हो।”
यता भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले राष्ट्रपति ट्रम्पको भनाइलाई “पागलपनको उपज” भनेका छन्।
भनेजुएलामा संविधानसभाको निर्वाचनबाट प्रजातान्त्रिक विधिको बाटो समाएको भन्दै सत्ताधारी पार्टीले अमेरिकाले आफ्नो देशमा अनावश्यक राजनीतिक हस्तक्षेप गरेको बताउने गरेको छ ।







