
उत्तर कोरियाले गुआममा क्षेप्यास्त्र प्रहारका लागि सशस्त्र फौज तयारी अवस्थामा राखेको छ ।
यसबारे उत्तर कोरियाली नेता किम जोङ उनले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूमि गुआममा चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजनाको समीक्षा गरेका छन् ।
हमलाबारे सेनाले तयार पारेको योजनाको नेता उनले समीक्षा गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनले मंगलबार जानकारी दिएको हो ।
नेता किम जोङ उनको आदेश पाउनासाथ सो फौजले क्षेप्यास्त्र प्रहार गर्नेछ । तर, नेता उनले अमेरिकी गतिविधिको मूल्यांकन गरेर मात्रै सो क्षेप्यास्त्र हमलाको आदेश दिने सो समाचार संस्थाले जनाएको छ ।
उत्तर कोरियाका अनुसार कोरियाली नेताले लामो समय लगाएर आक्रमणको योजना बनाएका छन् र सो विषयमा सेनाका वरिष्ठ अधिकारीहरूसँग छलफलमा जुटिरहेका छन् । तयारी पूरा भएसँगै उत्तर कोरियाको रणनीतिक फौज सर्वोच्च नेताको आदेश पर्खेर बसेको छ ।
प्राप्त रिपोर्टअनुसार निर्णय गर्नुअघि कोरियाली नेताले अमेरिकाले उठाउन सक्ने सम्भावित कदमबारे अवलोकन गरिरहेका छन् ।
दुई साता लामो धम्कीपछि किम जोङ उनले अन्ततः क्षेप्यास्त्र प्रहारको बटन थिच्ने मुडमा रहेको अनुमान गरिएको छ ।







