क्सलबाडी आन्दोलनको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा भारतको झारखण्ड राज्यको गिरिडिहमा केही दिनअघि एउटा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा ‘क्रान्तिकारी लेखक सङ्घ’ का संस्थापक सदस्य, कवि, समीक्षक, माओवादी चिन्तक तथा ‘रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट’ का अध्यक्ष वरवर रावले पनि आफ्नो धारणा राख्नुभएको थियो । सोही अन्तर्क्रिया कार्यक्रममा ७६ वर्षीय बरबर रावले व्यक्त गर्नुभएको र पत्रकार विदेश कुमारले लिपिबद्ध गर्नुभएको भनाइलाई तल प्रस्तुत गरिएको छ ।

विश्वमा भएका आन्दोलनहरूमा नक्सलबाडी आन्दोलनको इतिहास निकै लामो छ । भारतमा तेलङ्गाना आन्दोलन १९४६ देखि १९५१ सम्म मात्र चल्न सक्यो । दुइटा जिल्लामा मात्र आन्दोलन सीमित हुनु यसको एउटा कारण थियो । नक्सलबाडी आन्दोलन भने ५० वर्षमा प्रवेश गरेको छ र पूरै देशमा जनताको शासनसत्ता स्थापित नहोउन्जेलसम्म यो अगाडि बढिरहन्छ । हामीले सरकार बनाउने र राज गर्ने सपना देखेको होइन, हामी आदिवासी, दलित, शोषित पीडित एवं मध्यम वर्गीय किसानहरूको हक र अधिकारका लागि लडिरहेका छौँ
सारन्डा, जङ्गलमहल, उत्तरी तेलङ्गाना र ओडिसाकोको नारायण पटनामा हामीले जनसरकार गठन गरेका छौँ । बितेका १२ वर्षदेखि दण्डकारण्यमा जनताको सरकारले काम गरिरहेको छ । त्यस ठाउँमा १ करोडको आवादी छ र त्यहाँ जनताको पक्षमा ‘पिपुल्स लिबरेसन गुरिल्ला आर्मी’ गठन गरिएको छ ।
जनताको सरकार आदिवासी, दलित, साना तथा मझौला किसानहरू सम्मिलित मोर्चा हो र जनता सरकारले त्यहाँ बसोबास गर्ने सबै परिवारलाई बराबर मात्रामा जमिनको बाँडफाँट गरेको छ । त्यसैको फलस्वरूप जमिनको बारेमा केही नजान्ने आदिवासीहरू पनि थरीथरीका तरकारी तथा अनाज उत्पादन गरिरहेका छन् । यहाँका किसानहरूले घुम्ती स्कुलहरू, घुम्ती अस्पतालहरू चलाएका छन् । जनताको सरकारसित सम्बद्ध क्रान्तिकारी महिला सङ्गठनसित एक लाखभन्दा बढी सदस्य छन् । सांस्कृतिक टिमका सदस्यहरूको सङ्ख्या पनि ठूलो छ । जनता विरोधी गुन्डादलसित लड्न ‘पिपुल्स मिलिसिया’ गठन गरिएको छ । जनताको सरकार माओको तीन जादुगरी हतियार—पार्टी, सेना र संयुक्त मोर्चाको अवधारणा अनुसार चलेको छ ।
माओवादी आन्दोलनमा अन्य वाम जनवादी घटकको सहभागिताका हुन्छ । जो मान्छे तथा पार्टीहरू वर्तमान सत्ताबाट टाढा छन् उनीहरूसित मोर्चा बनाउन सकिन्छ, जस्तो हामीले आन्ध्र तथा तेलङ्गानामा बनाएको मोर्चा ‘तेलङ्गाना डेमोक्रेटिक फोरम’ मा सिपिआई, सिसिएम, एमएलका विभिन्न समूहसहित आदिवासी, दलित, अल्पसङ्ख्यक समूह तथा विद्यार्थीहरू सम्मिलित १० ओटा समूह संलग्न छन् ।
अहिलेको विश्वमा कतै पनि समाजवादी मुलुकहरू छैनन् । रूस र चीन साम्राज्यवादी मुलुकमा परिणत भइसकेका छन् । नेपालमा आशा थियो, त्यो पनि समाप्त भयो । त्यो पनि अब भारतको उपनिवेश बनेको छ । भारतको अमेरिकासितको साँठगाँठ यहाँका आदिवासी तथा दलितहरूका लागि एकदमै खतरनाक कुरा हो । अमेरिकाको नजर हाम्रो देशको जङ्गल, पहाड तथा यहाँको भूमिमाथि छ, जहाँ प्रशस्त मात्रामा प्राकृतिक सम्पदाहरू छन् । यही प्राकृतिक सम्पदा लुट्न अमेरिकी सरकार मोदी सरकारलाई हतियार र जहाज उपलब्ध गराइरहेको छ, जसद्वारा आकासबाट जङ्गललाई निसाना बनाएर आदिवासीलाई आफ्नो थातथलोबाट भगाउन सकियोस् र त्यो भूभागमाथि कब्जा गरेर मल्टिन्यास्नल कम्पनीलाई जमिन उपलब्ध गराउन सकियोस् । यो काम मोदी सरकार “नक्सल सफाय” गर्ने नाममा गरिरहेको छ । त्यसैले म भन्छु, यस्तो अवस्थामा नयाँ जनवादी क्रान्ति नक्सलवादी आन्दोलनको बाटोबाट मात्र सम्पन्न हुन्छ, सशस्त्र सङ्घर्षबाट सम्भव हुन्छ ।
आजादीको ७१ वर्षपछि पनि देशको स्थिति दुर्दशापूर्ण छ । बच्चाहरूका लागि प्रकृत्तिप्रदत्त अक्सिजन पनि छैन । गजबको संयोग छ, ७१ वर्ष पुग्दा एकैचोटि ७२ बच्चाको अस्पतालमा मृत्यु हुन्छ । त्यसैगरी उच्च प्रविधिमा आधारित मल्टिन्यास्नल कर्पोरेट कम्पनीहरू श्रमशक्तिमाथि धावा बोलिरहेका छन् । अलिअलि गरेर मजदुरहरूको रोटी खोसिँदैछ र यो सबै विकासको नाममा भइरहेको छ ।
गौ हत्या, गाईको मासु र देशभक्तिको नाटक गरेर तिनीहरू जनतालाई एकआपसमा लडाउने काम गरिरहेका छन् । ४००० भन्दा बढी मान्छेहरूको हत्या गराउने मान्छे नै आज कथित लोकतन्त्रको संसदीय व्यवस्थाको प्रधानमन्त्री बनेका छन् । इतिहास साक्षी छ, इन्दिरा गान्धीको हत्यापछि ३ देखि ४ हजार सिखहरूको हत्याको इनामका रूपमा राजिव गान्धीलाई प्रधानमन्त्रीको कुर्सी प्राप्त भएको थियो । त्यो पनि संसदीय लोकतन्त्रको देन थियो । अनि हामी कसरी यस किसिमको लोकतान्त्रिक व्यवस्थाप्रति विश्वास गरौँ ?
हामी भगतसिंहको विरासतको बाटोमा हिँड्नु आवश्यक छ, अनि मात्रै देशमा जनताको शासन सम्भव हुन्छ ।
०००
अनलाइन : जनचोक -जनमेलबाट ।







