अमेरिका र उत्तर कोरियाबीच सैन्य धम्कीको विवादबीच उत्तर कोरियाले शनिबार बिहान एकैदिन तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

संयुक्त राज्य अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हाे। तर अमेरिकाले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ।
गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले गुआममा क्षेप्यास्त्र हमला गर्ने अमेरिकालाई चेतावनी दिएको थियो।
दक्षिण कोरयाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्रहरु परीक्षण गरेको देखिएको जनाएको छ। प्योङयाङले पछिल्ला महिनाहरुमा आफ्नो क्षेप्यास्त्र परीक्षण कार्यक्रममा तीव्रता दिएको छ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो। स्थानीय समय अनुसार शनिवार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले बताएको छ।
३० मिनेटको अन्तरालमा ती क्षेप्यास्त्रहरुको परीक्षण गरिएको उनले बताए। उत्तर कोरियाली रक्षामन्त्रीले भनेका छन्, “उत्तर कोरियाली उक्साहटको सामना गर्नका निम्ति हाम्रो सेनाले कडा निगरानी गरिरहेको छ।”
दक्षिण कोरियामा हजारौं अमेरिकी तथा दक्षिण कोरियाली सेनाले अहिले संयुक्त अभ्यास गरिरहेका छन्। दुई देशको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले निरन्तर विरोध जनाउँदै आएको छ।







