रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुको औचित्य नभएको बताएका छन् ।

उत्तर कोरियाको पछिल्लो परमाणु परिक्षणपछि अमेरिकाले सोमबार संयुक्त राष्ट्रसंघमा थप प्रतिबन्धको प्रस्ताव लैजाने बताएको थियो ।‘उत्तर कोरियालीहरु घाँस खाएर बाँच्लान् तर परमाणु कार्यक्रम बन्द गर्दैनन्,’ पुटिनले भने ।
पुटिनले यसबारे प्रतिक्रिया दिँदै ‘सैन्य हिस्टेरिया’ले विश्वब्यापी संकट निम्ताउने पनि चेतावनी दिएका हुन् ।
उनले यस समस्याको समाधान कुटनीतिक तवरबाट गरिनुपर्नेमा जोड दिए । उत्तर कोरियानिकट मानिएको चीनले पनि वार्तामै जोड दिएको छ ।
ब्रिक्स सम्मेलनका दौरान चीनको सियामेनमा बोल्दै पुटिनले उत्तर कोरियाको पछिल्लो परिक्षणको भत्सर्ना गरे पनि थप प्रतिबन्धको औचित्य नरहेको बताएका हुन् ।
‘आफू सुरक्षित भएको महसुस नगरेसम्म उनीहरुले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नेछैनन्, बरु घाँसनै खाएर बाँच्न किन नपरोस् । कसरी सुरक्षा स्थापना गर्न सकिन्छ ? अन्तर्राष्ट्रिय कानुनको स्थापनाबाट । हामीले सबै पक्षबीच छलफललाई जोड दिनुपर्छ,’ उनले भने ।
पुटिनले थप प्रतिबन्धले लाखौँ जनता प्रभावित हुनेमा पनि जोड दिए ।







