संयुक्त राष्ट्रसंघले अाफुमाथि नाकाबन्दी घाेषणा गरेलगत्तै उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको हो।

जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो।

दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन्। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ।

यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले आफ्नो आकाशमाथि बलेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा जापानले त्यसलाई ‘अभुतपूर्व खतरा’को संज्ञा दिएको थियो। उक्त क्षेप्यास्त्र जापानी आकाश भएर ३,००० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो।

प्योङयाङगले त्यसलाई कोरियाली प्रायद्वीपमा सैन्य कारबाहीको ‘पहिलो कदम’ भएको बताएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार