उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले असीमित प्रतिबन्ध र नाकाबन्दीका बाबजुद आफ्नो देशले पारमाणिक शक्ति हासिल गरिछाड्ने उद्घोष गरेका छन् ।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार नेता किम जड-उनको अन्तिम लक्ष्य संयुक्त राज्य अमेरिकासरह हैसियत बनाउने रहेको छ ताकि ‘अमेरिकाले सैन्य विकल्पबारे कुरा गर्ने दुस्साहस नगरोस्’।
किमले भनेका छन्, “हामीले ठूलो शक्तिशाली भएको देखाउनेहरुलाई स्पष्ट रुपमा देखाइदिनुपर्छ कि असीमित प्रतिबन्ध तथा नाकाबन्दीका बावजुद हाम्रो देशले पारमाणविक शक्ति हासिल गर्ने लक्ष्य कसरी प्राप्त गर्छ।”
यसअघि अमेरिकाले उत्तर कोरियाविरुद्ध हाल लगाइएका प्रतिबन्धहरुले काम नगरे सैनिक कारबाही गर्न सकिने प्योङयाङलाई चेतावनी दिएको थियो।
शुक्रवार बिहानै उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र हकाइदो टापुको आकाश हुँदै ३,७०० किलोमिटरको दूरी तय गरेको थियो। त्यसअघि गत अगस्ट २९ तारिखमा परीक्षण गरिएको क्षेप्यास्त्रले ३,००० किलोमिटरको दूरी तय गरेको थियो।
शुक्रवार गरिएको क्षेप्यास्त्र परीक्षणको किमले व्यक्तिगत रुपमा अवलोकन गरेका थिए। उक्त क्षेप्यास्त्रले अमेरिकाको गुआम टापुसम्म मार हान्न सक्ने बताइएको छ।
विज्ञहरुका अनुसार उत्तर कोरियाले परीक्षण गरेका बलेस्टिक क्षेप्यास्त्रहरुमध्ये त्यसले सबैभन्दा बढी दूरी तय गरेको थियो।







