युरोपका लागि उत्तर कोरियाको सांस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ ‘तयार’ रहेको बताएका छन्।

उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक हप्ता पनि नबित्दै काओ डी बेनोको पछिल्लो भनाई आएको हो। बीबीसी रेडियो फाइबसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै शहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको दावी गरे।
एलेखेन्द्रो उत्तर कोरियाली नेता किम जङ-उनका नजिकमध्येका एक हुन्। पारमाणविक परीक्षण गरेको दुई साता पनि नबित्दै उत्तर कोरियाले गत हप्ता जापानी आकाशमा दोस्रो क्षेप्यास्त्र प्रहार गरेको थियो।
प्योङयाङको पछिल्लो कदमसँगै कोरियाली प्रायद्वीपमा जारी तनाव थप बढेको छ।
काओ डी बेनोले भने, “सबै अमेरिकी वैज्ञानिकहरुलाई यो कुरा थाहा भइसकेको छ कि हामीले परीक्षण गरेको क्षेप्यास्त्रले लामो दूरीसम्म मार हान्न सक्छ। हामी त्यसलाई ४,००० किलोमिटरसम्म पठाउन सक्छौँ अर्थात् अब हामी अमेरिकाका लगभग जुनसुकै शहरलाई निशाना बनाउन सक्छौँ।”

एलेखेन्द्रो काओ डी बेनो उत्तर कोरियाली नेता किम जङ-उनका नजिकमध्येका एक हुन् ।
उनले त्यसबाहेक प्योङयाङले थुप्रै पारमाणविक परीक्षण पनि गरेको बताउँदै त्यसलाई उत्तर कोरियाको परमाणु क्षमतालाई देखाएको बताए।काओ डी बेनोले भने, “संसारलाई अहिले हाम्रो प्राविधिक र वैज्ञानिक क्षमताबारे थाहा भइसकेको छ।”
उत्तर कोरियाली सेनाका अनुसार गत हप्ता प्रहार गरिएको क्षेप्यास्त्रले ७७० किलोमिटरको उचाईमा ३,७०० किलोमिटरको दूरी तय गरेको थियो। काओ डी बेनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकालाई फेरि महान् बनाउन लागेको विश्वसामु प्रस्तुत हुने गरे पनि गम्भीर अवस्था निम्तिन नदिनका निम्ति दुई मुलुकबीच पहिल्यैदेखि कुराकानी हुँदै आएको बताए।
उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर अमेरिकाले निरन्तर दवाव दिंदै आएपनि प्योङयाङमाथि त्यसको खासै असर परेको देखिएको छैन।
हालै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाविरुद्धको प्रतिबन्धले काम नगरे सैन्य कारबाहीको विकल्प पनि रहेको बताएकी थिइन्।
हिन्दी बीबीसीकाे सहयाेगमा ।







