अमेरिकाले दक्षिण कोरियाको आकाशमा बम खसाल्ने विमान उडाएको छ ।

सैनिक अभ्यासअन्तर्गत अमेरिकाले बम खसाल्ने विमान दक्षिण कोरियाको आकाशमा उडाएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । दक्षिण कोरियाको समाचार एजेन्सी योनहैपका अनुसार अमेरिकाले युएस–४ एफ विमान उडाएको थियो ।
केही वर्षयता दक्षिण कोरियाली र अमेरिकी सैनिकले सिउलमा संयुक्त रूपमा सैनिक अभ्यास गरिरहेका छन् । दक्षिण कोरियाले पनि अमेरिकी विमानसँगै आफ्नो फाइटर जेट पनि समावेश गरेको योनहैप समाचार एजेन्सीले जनाएको छ ।
अमेरिकी र दक्षिण कोरियाली बमवर्षक विमान अभ्यासका क्रममा जापान र गुआन सिमानासम्म पुगेको थियो । त्यसपछि ती विमान कोरियाली प्रायद्वीपमा फर्किएका थिए । यता, जापानले यस सम्बन्धमा केही पनि प्रतिक्रिया जनाएको छैन ।
गत १५ सेप्टेम्बरमा उत्तर कोरियाले जापानको आकाशमै क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त रूपमा विमानको शक्ति प्रदर्शन गरेका हुन् । कोरियाली प्रायद्वीपमा चार फाइटर विमान आपत्कालीन अवस्थामा राखिएका छन् ।
यता, दक्षिण कोरियाका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियालाई आणविक परीक्षण नरोके ठूलो कारबाहीको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।







