संयुक्त राष्ट्रसंघको साधारण सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो सम्बोधन नै विवादास्पद बनेको छ ।

मंगलबार न्यू योर्कमा राष्ट्रसंघको सभालाई सम्बोधन गर्ने क्रममा केही राष्ट्रहरुलाई एक्ल्याएर ट्रम्प आक्रामक रुपमा प्रस्तुत भएको आरोप लगाउँदै उनको चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपति ट्रम्पले सम्बोधनमा ‘दुष्ट साम्रज्यहरुको सानो समूह’ मा इरानलाई संलग्न गरेको र उत्तर कोरियालाई ‘पूर्ण रुपमा ध्वस्त पार्ने’ चेतावनी दिएकोमा विभिन्न राष्ट्रका अन्य सहभागीहरुले आलोचना गरेका हुन् ।
इरानका विदेशमन्त्रीले ‘ट्रम्पको द्वेशपूर्ण सम्बोधन मध्ययुगको लागि मात्र सुहाउँछ, एक्काइसौँ शताब्दीको राष्ट्रसंघमा होइन’ भने । उत्तर कोरियाले भने ट्रम्पको चेतावनीको कुनै प्रतिक्रिया दिएको छैन ।
ट्रम्पले सम्बोधनमा ‘आ–आफ्नो मुलुकका जनताहरुको भलो हुने सार्वभौमसम्पन्न राष्ट्रहरुले भरिएको विश्व’को परिकल्पना गरेको पनि बताएका थिए, तर सम्बोधनको अधिकांश समय उनले ‘दुष्ट राष्ट्रहरु’को आलोचनामै खर्च गरे ।
वाशिङ्टनले उत्तर कोरियालाई आफ्ना आणविक हतियार परिक्षणहरु रोक्नको लागि बारम्बार चेतावनी दिँदै आइरहेको छ । मंगलबारको सम्बोधनमा पनि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली राष्ट्रपति किम जोङ–उनप्रति लक्षित गर्दै, ‘रकेट मानव आत्महत्यातर्फ अगाडि बढ्दैछन्’ भनेका थिए ।
‘यदि अमेरिका वा अमेरिकी मित्रराष्ट्रहरुलाई रक्षा गर्नको लागि बाध्य पारियो भने उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्नुको कुनै विकल्प रहँदैन,’ ट्रम्ले भने । ट्रम्पले यसो भनिरहँदा सहभागी एक व्यक्तिले हातले आफ्नो मुख छोपेको रोयटर्स न्यूज एजेन्सीले जनाएको छ ।
‘यो एक गलत ठाउँमा गलत समयमा दिइएको एक गलत सम्बोधन हो,’ स्वीडेनका विदेश मन्त्री मार्गट वालस्ट्रमले भनिन् । राष्ट्रपति ट्रम्पले सम्बोधनमा इरानलाई ‘हिंसा, रक्तपात र अराजकता निर्यात गर्ने प्रजातन्त्रको खोल ओढेको एक भ्रष्ट तानाशाही राष्ट्र’ भएको आरोप लगाएका थिए ।
उनले सन् २०१५ मा इरानसित भएको आणविक सम्झौता ‘अमेरिका सहभागी भएको सबैभन्दा खराब र एकतर्फी सम्झौता’ भएको बताए ।
सम्बोधनमा राष्ट्रपति ट्रम्ले भेनेज्वेलाविरुद्ध पनि आक्रामक रुपमा प्रस्तुत भए । उनले भेनेज्वेलाको सरकारलाई भ्रष्ट ‘समाजवादी तानाशाह’ भएको आरोप लगाए भने अमेरिकाले कुनै पनि समय भेनेज्वेलामाथि कारवाही गर्नसक्ने चेतावनी दिए ।
प्रतिक्रियास्वरुप भेनेज्वेलाका विदेशमन्त्री जोर्ग अरेइजाले ट्रम्पको चेतावनीलाई स्वीकार नगर्ने बताए । ‘ट्रम्प विश्वकै राष्ट्रपति त होइनन् नि । उनले त आफ्नै सरकार पनि सम्हाल्न सकेका छैनन्,’ उनले भने ।
ट्रम्पको सम्बोधनलाई लक्षित गर्दै बोलिभियाका राष्ट्रपति इभो मोरालेजले ट्वीट गरेका छन्, ‘अरबपति ट्रम्पले समाजवादलाई यस्तो आक्रमण गर्नु कुनै ठूलो कुरा होइन । हाम्रो संघर्ष जहिलेपनि विचारधारात्मक र व्यवहारिक नै हुन्छ ।’
फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोँले आफ्नो सम्बोधनमा इरानसितको आणविक सम्झौता ‘फिर्ता लिनु महाभूल’ हुने बताए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने ट्रम्पको सम्बोधनलाई समर्थन गरे । उनले इरानसितको आणविक सम्झौता संशोधन गर्नुपर्ने वा पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए ।
इमुल्यांकनकाे सहयाेगमा बिबिसीबाट ।







