उत्तर कोरियाका विदेश मन्त्री रि योङ-होले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको “कुकुरको आवाज”को संज्ञा दिएका छन्।

बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहे उसलाई “नष्ट गरिदिने” चेतावनी दिएका थिए।

उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, “एउटा भनाइ छ: ‘कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ’।” “यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन्।”

उत्तर कोरियाका विदेश मन्त्री होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन्। राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।

उत्तर कोरियाली नेता किम जोङ-अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, “‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन्।”

त्यसप्रति प्रतिक्रिया माग्दा उत्तर कोरियाली विदेश मन्त्री रिले भने, “म उनका सहयोगी र सल्लाहकारप्रति दु:ख व्यक्त गर्न चाहन्छु।” रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार