अक्टोवर १ तारिख अर्थात् राष्ट्रिय दिवसको दिनदेखि नै चीनको राजधानी बेइजिङको मौसम चिसो हुन थालिसकेको छ। तर यसै महिनाको १८ तारिख हुने चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनका लागि पनि राजनीतिक वृत्त भने तातिएको छ।

सभास्थल ग्रेटहल अफ द पिपुल्स जिवन्त भएको छ भने बेइजिङका गौँडा चोकहरूमा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ। विश्वको सबैभन्दा विशाल पार्टी र दोश्रो ठूलो अर्थतन्त्र भएको चीनमा पार्टीको १९औं महाधिवेशन यस्तो बेलामा आयोजना हुन लागिरहेको छ, जतिखेर चिनियाँ विशेषतायुक्त समाजवादले महत्वपूर्ण मोड लिएको छ भने चिनियाँ सर्वसाधारणको जीवनले सुखद् घुम्ती पार गर्दै गइरहेको छ।

मुख्य परियोजनाहरू नियन्त्रित रूपमा कार्यान्वयनमा गइरहेका छन् भने समृद्ध समाजको निर्माणका लागि चिनियाँ सरकारले चौतर्फी प्रयासहरूलाई जोडतोडसँग अघि बढाइरहेको छ। यसैले चिनियाँ कम्युनिष्ट पार्टीको अग्रगामी संचालन तथा चिनियाँ विशेषतायुक्त समाजवादभित्र अरबौं नागरिकको भाग्यको रूपमा यसको कार्यदिशा मोडिएको छ।

चीनमा हुने पार्टीको यो महत्वपूर्ण महाधिवेशनतर्फ विश्वको ध्यान सोझिएको छ। खासगरी चीनका हितैषीहरूले विगत पाँच वर्षमा सी चिन फिङको नेतृत्वले अंगीकार गरेको नीति तथा विश्व शान्ति, स्थिरता र भ्रातृत्वपूर्ण सम्बन्ध स्थापनामा खेलेको भूमिकालाई केलाइरहेका छन्। चिनियाँ नागरिकले भने पाँच वर्षमा आफ्नो जीवनशैलीमा आएको गुणस्तरीय बदलावलाई केन्द्र बनाएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको यस महाधिवेशनमा मुख्यतया राष्ट्रपति सी चिनफिङको कार्यप्रतिवेदन पेश हुनेछ, यस सम्मेलनले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ, केही उमेरहदका कारण बाहिरिनेछन् र पाँच वर्षे कार्याकाल रहेको अनुशासन अनुगमन आयोग पनि गठन हुनेछ। त्यतिमात्रै नभएर सीले आफूलाई एक बलियो नेताको रूपमा कार्यकाल थप लम्ब्याउने पूर्वानुमान पनि गरिएको छ।

समग्रमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रदेश, शहर, जिल्ला तथा काउन्टीबाट निर्वाचित भएका प्रतिनिधिहरू यस सम्मेलनमा सहभागी भएर पार्टी कार्यसमीक्षा तथा नेतृत्वको कार्य मूल्यांकन गर्ने छन्।

पार्टीको १९औं महाधिवेशनमा मजदूर र महिलाको बाहुल्यता

चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनको तुलनामा यसपटक पूर्णकालीन निर्माणकर्मी तथा महिलाहरू निर्वाचित भएका छन्। सीपीसी केन्द्रिय कमिटी संगठन विभागले दिएको जानकारी अनुसार कूल ७७१ प्रतिनिधि अर्थात् ३३.७ प्रतिशत उत्पादन तथा निर्माण क्षेत्रबाट समेटिएका छन्, अघिल्लो महाधिवेशनको तुलनामा यो संख्या ३.२ प्रतिशतले बढेको छ। ती मध्ये १९८ कामदार र प्रवासी मजदूर छन्। ८६ किसान र २८३ जना व्यवसायिक प्राविधिककर्मी रहेका छन्।

सीपीसी सदस्यमा महिला सहभागिता तुलनात्मक रूपमा बढेको छ, २४.१ प्रतिशतले। अल्पसंख्यक जातिय समूह पनि बढेका छन्११.५ प्रतिशतले। चीनमा ५५ जाति रहेकामा ४३ अल्पसंख्यक जातिका तर्फबाट प्रतिनिधित्व भएको जनाइएको छ।

यस महाधिवेशनमा कूल २२ सय ८७ जना निर्वाचित प्रतिनिधिले भाग लिनेछन्। निर्वाचितहरू पार्टी विधान र सीपीसी केन्द्रिय कमिटीको सर्तनामा बमोजिम छानिएका हुन्। राजनीतिक समावेशी तथा स्वच्छ छविको कार्यशैलीको कठीन प्रारूपमा प्रतिनिधिको छनोट भएकोमा २७ जना प्रतिनिधि भने अयोग्य घोषित भएका छन्। ती मध्ये छोङछिङका पूर्व पार्टी प्रमुख सुन चङछाइ, अर्थमन्त्रालयका पूर्व वरिष्ठ अधिकृत मो च्येनछङ लगायत पनि कडा सर्तको शिकार भएर प्रतिनिधि छानिनबाट वञ्चित भएका छन्।

यसपटक निर्वाचित प्रतिनिधिको औसत उमेर ५१.८ वर्ष छ। गत १८औंको तुलनामा ०.२ वर्ष कम छ। तीमध्ये ७०.६ प्रतिशत प्रतिनिधिको उमेर ५५ वर्षभन्दा कम छ। थाहा भएअनुसार केही अवकाशप्राप्त सीपीसी सदस्यहरूले पनि यस केन्द्रिय महाधिवेशनमा विशेष प्रतिनिधिको निम्तो पाएर सहभागिता जनाउनेछन्।

महाधिवेशनका लागि प्रतिनिधि छनौट

गत वर्ष अर्थात् सन् २०१६ को नोभेम्बर महिनामा चिनियाँ कम्युनिष्ट पार्टीले कोटा सार्वजनिक गर्दै प्रतिनिधिहरूको योग्यता र निर्वाचन कार्यविधि घोषणा गरेको थियो। सर्त बमोजिम उम्मेदवार राजनैतिक तथा वैचारिक रूपमा अधिक योग्य हुनुपर्छ। उसले राम्रो काम गरेको हुनुपर्छ र जीवनशैली नराम्रो हुनु हुँदैन। राज्य मामिलामा बहस गर्न प्रतिष्पर्धात्मक हुनुपर्छ। र आफ्नो कार्यक्षेत्रमा सफल भएको हुनुपर्छ, लगायत सर्तहरू पालना गरेपछि उम्मेदवार बन्न सकिन्थ्यो।

यस १९औं महाधिवेशनमा २२ सय ८७ जना प्रतिनिधिले भाग लिने निश्चित भएको छ। उनीहरू यस वर्ष भएको निर्वाचनबाट छनोट भएका हुन्। स्थानीय तहबाट निर्वाचित भएपनि केन्द्रिय तहमा जाँचबुझ प्रक्रिया पार गरेपछि उनीहरूले राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि अन्तिम स्वीकृति पार गरे।

पार्टी विधान तथा सीपीसीको सर्त बमोजिम प्रजातान्त्रिक तवरले उनीहरू छानिएका हुन्। प्रतिनिधित्व गर्नेहरू राजनीतिक नेता तथा सीपीसी सदस्यहरू महिला, अल्पसंख्यक, मजदुर, अर्थतन्त्र, विज्ञान तथा प्रविधि, राष्ट्रिय सुरक्षा, राजनीति तथा न्यायिक क्षेत्र, शिक्षा, प्रचारप्रसार, सँस्कृति, स्वास्थ्य, खेलकुद र सामाजिक व्यवस्थापन विभाग लगायतबाट रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार