
उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु कब्जा गरेका छन् । त्यसमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ।
एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट प्राप्त भएको जनाएका छन्। त्यसरी कब्जा गरिएका दस्तावेजमा युद्धको अवस्थामा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अपनाउने रणनीतिक योजनाहरु पनि रहेको बताइएको छ।
उत्तर कोरियाली ह्याकरहरुले गोप्य र महत्वपूर्ण सैनिक दस्तावेजहरु कब्जा गरेको भन्ने विवरणहरुकाबारे दक्षिण कोरियाको रक्षामन्त्रालयले हालसम्म औपचारिक रुपमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
दक्षिण कोरियाको विशेष तालिमप्राप्त सैन्य सम्बन्धी योजनाहरुका साथै त्यहांका महत्वपूर्ण उर्जा केन्द्र र सैनिक ठेगाना सम्बन्धी जानकारीहरु चुहिएको हुनसक्ने बताइएको छ। यस्तो जानकारी दिने सांसद ह्री चिओल- ही दक्षिण कोरियाको सत्ताधारी पार्टीसंग सम्बद्ध छन् र संसदको रक्षा समितिका सदस्य पनि हुन्।
उनका अनुसार देशको एकीकृत प्रतिरक्षा तथ्यांक केन्द्रबाट २३५ गिगाबाइट आकारको सैनिक दस्तावेजहरु कब्जामा छन् र तीमध्ये असी प्रतिशतको पहिचान हुनै बांकी छ।
इन्टरनेट मार्फत अनधिकृत रुपमा कम्प्युटर प्रणालीमा प्रवेश गरी भएको त्यस्तो दस्ताबेज कब्जा घटना गत सेप्टेम्बर महिनामा भएको थियो।







