हरेक पाँच वर्षमा विश्वको ध्यान चीनको राजनीतिले तान्ने गर्दछ । सत्तारुढ कम्युनिस्ट पार्टीको कंग्रेस (महाधिवेशन) तर्फ सबैको ध्यान जाने गर्दछ ।

यही सम्मेलन अर्थात कंग्रेसले कम्युनिस्ट पार्टीको नेतृत्व कसले गर्दछ भन्ने कुराको निर्णय गर्दछ । जसले कम्युनिस्ट पार्टीको कमाण्ड मात्रै होइन, चीनको एक अर्ब तीस करोड नागरिकको सरकार प्रमुखको भूमिका निर्वाह गर्दछन् । त्यति मात्रै होइन, तीनै व्यक्तिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र पनि सम्हाल्ने छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेसन आउँदो अक्टोबर १९ देखि सुरु हुँदैछ । यसै सम्मलेनमार्फत चीनको नेतृत्व परिवर्तनको अपेक्षा गरिएको छ । तर यसपल्ट भने राष्ट्रपति सि जिनपिङलाई नै दोहोर्याइने सम्भावना रहेको छ ।
कंग्रेसले के गर्दछ ?
मध्य अक्टोबरमा कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) ले देशभरबाट प्रतिनिधि नियुक्त गर्दछ । त्यसपछि बेइजिङको ग्रेट हलमा बैठक बस्नेछ । पार्टीमा दुई हजार तीन सय प्रतिनिधि रहेका छन् तर यसपल्ट १३ जना अनैतिक व्यवहारका कारण सम्मेलनमा सहभागी नहुने भएका छन् ।
बन्दसत्र आयोजन गरेर सिपिसीको शक्तिशाली सेन्ट्रल कमिटीको चुनाव हुने गर्छ । सेन्ट्रल कमिटीमा झण्डै २ सय सदस्य हुन्छन् । यही कमिटीले पोलिटब्युरोको चयन गर्दछ । पोलिटब्युरोले नै स्थायी समितिको चयन गर्दछ । यही दुई कमिटी चीनमा निर्णय लिने निकाय हुन् । पोलिटब्युरोमा अहिले २४ जना सदस्य रहेका छन् । स्थायी समितिमा सात जना सदस्य रहेका छन् तर सदस्यको संख्या भने वर्षेनि परिवर्तन गर्न सकिन्छ ।
भन्नलाई त यो एउटा मतदान प्रक्रिया नै हो तर नेतृत्वमा कसलाई राख्ने भन्ने कुरा पहिले नै तय भैसकेको हुन्छ । औपचारिकताका लागि मात्रै बैठक बस्ने गरेको बताइन्छ । सेन्ट्रल कमिटीले पार्टीको शीर्ष नेतृत्व महासचिवको चुनाव पनि गराउँछ । जो पार्टीको महासचिव हुन्छ त्यही नै देशको राष्ट्रपति हुन्छ । यसपल्ट सि जिनपिङ नै राष्ट्रपतिमा दोहोरिने समभावना छ ।
यसपल्ट के हुँदैछ ?
१९ औँ महाधिवेशनमा सि जिनपिङले आगामी पाँच वर्षका लागि चीनको नीति कस्तो हुनेछ भनेर एउटा विस्तृत रिपोर्ट पेश गर्नेछन् । यसमा विश्लेषकले आ–आफ्ना विचार राख्नेछन् । त्यस्तै अहिलेको सममलेनमा पोलिटब्युरो र स्थायी समितिको पुरै बदलाव ल्याउने तयारी भएको पनि बताइएको छ ।
पछिल्ला केही वर्षमा पार्टीले विभिनन पदका लागि उमेरको हदबन्दी लगाएको छ । त्यसैले ६८ वर्ष उमेर पार गरेका धेरै नेताहरुले पोलिटब्युरो सदस्यबाट छुटकारा पाउनेछन् । यसमा भ्रष्टाचार विरोधी एजेन्सीका प्रमुख वाङ किसाङ पनि सामेल छन् । किसाङ राष्ट्रपतिका नजिकका व्यक्ति भएकाले पनि उनलाई निरन्तरता दिइन सक्नेछ ।
सि जिनपिङको शक्ति
जब सि जिनपिङ सन् २०१२ मा सत्ताको बागडोर सम्हाल्न आए उनले आफनो शक्ति बढाएका छन् । उनलाई विभिन्न ‘टाइटल’ बाट चिनिन थालेको छ । उनलाई ‘कोर लिडर अफ चाइना’ का नामले चिनिन्छ । उनलाई माओ त्सेतुङजस्ता नेताको पंक्तिमा खडा गरिएको छ । कंग्रेसमा पनि सि जिनपिङका सहयोगी धेरै भएकाले पार्टी चार्टरमा उनलाई आफ्ना नीतिहरु स्थापित गर्न सजिलो हुने बताइएको छ ।
यदि यस्तो भयो भने चीनको राजनीतिक इतिहासमा सि जिनपिङ माओकै स्तरमा पुग्नेछन् । उनले राष्ट्रपतिको दुई कार्यकालको सीमा बढाउन सक्ने पनि सम्भावना रहेको छ । उनले सन् २०१२ मा राष्ट्रपति भएपछि भ्रष्टाचार विरोधी अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाएका छन् । उनको कार्यकालका १० लाखभन्दा बढी अधिकारी कारबाहीमा परेका छन् । सि जिनपिङका कामले गदौ चीनका मिडियामा उनको छवि चम्किएको छ ।
यसले अरुलाई के अर्थ राख्दछ ?
विश्लेषकहरुका अनुसार पार्टीका विभिन्न विभागमा फेरबदल आए पनि चिनियाँ विदेश नीतिमा भने परिवर्तन हुने छैन । सिकै कार्यकालमा दक्षिण चीन सागर र ‘वन बेल्ट वन रोड’ जस्ता महत्वपूर्ण आयोजनाहरुको खाका कोरिएकाले दोस्रो कार्यकालमा यी योजनाले पूर्णता पाउने आशा गरिएको छ ।
अहिले डोनाल्ड ट्रम्पले अमेरिकालाई सुपरपावरका रुपमा चिनाउन खोजे पनि चीनले पनि आफूलाई वैकल्पिक सुपरपावरका रुपमा चिनाउँदै आएको छ । तर पनि कोरियाली प्रायद्विपमा बढिरहेको परमाणु संकटलाई सम्बोधन गर्न चीनले कस्तो नीति अपनाउने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
–एजेन्सीको सहयोगमा







