उत्तर कोरियाले मिसाइल प्रयोगै नगरी अमेरिकाको ९० प्रतिशत जनसंख्यालाई घातक निशाना बनाउन सक्ने अमेरिकी गुप्तचर एजेन्सीका एक अधिकारीले बताएका छन् ।

सीआइएका पूर्व निर्देशक जेम्स वुल्सीले अमेरिकासँग मिसाइल प्रतिरोधी क्षमता भएपनि उत्तर कोरियाले कुनै मिसाइल प्रयोग नै नगरी अमेरिकालाई तहसनहस बनाउन सक्ने क्षमता विकास गरेको दाबी गरेका हुन् । सीआइएका पूर्वनिर्देशक वुल्सीका अनुसार उत्तर कोरियाले अमेरिकाको इलेक्ट्रिक ग्रिड र अन्य आधारभूत संरचनालाई वर्ष दिनसम्म निस्क्रिय तुल्याउन सक्छ । यसबाट भोकमरी, बिमारीजस्ता समस्या उत्पन्न भई प्रत्येक १० जनामध्ये ९ अमेरिकीले मृत्युवरण गर्न सक्छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकी रक्षा विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले अमेरिकामाथि इलेक्ट्रोनिक म्यागनेटिक पल्स (इएमपी)बाट हमला गर्न सक्ने छ । यो प्रविधिबाट अमेरिकाको साइबर क्षेत्र तहस नहस हुने र पुरै अमेरिका अन्धकारमा डुब्ने खतरा पनि उनीहरुले औंल्याएका छन् ।
अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेशनल इएमपी टास्क फोर्सका कार्यकारी निर्देशक डा.पिटर विनसेन्ट प्राइका अनुसार उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै हतियार बनाउन सक्छ र आफ्नाे उपग्रहलाई नै परमाणु मिसाइलमा रुपान्तरण गर्ने क्षमता हासिल गरिरहेको उनले बताए ।
उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाट अमेरिकामाथि कडा निगरानी गरिरहेको अमेरिकी रक्षा विशेषज्ञ बताउँछन् । यी दुबै उपग्रहले डेढ घण्टाको अवधि मै पृथ्वी परिक्रमा गर्ने क्षमता राख्छन् । यस अतिरिक्त उत्तर कोरियासँग रहेका एटम बम पनि अमेरिकाका लागि ठूलो चुनौती बनेको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हालै उत्तर कोरियासँग २५३ एटम बम रहेको आंकलन गरेका छन् ।
यो तथ्यांकलाई आधार मान्ने हो भने रुस र अमेरिकापछि तेस्रो सर्वाधिक परमाणु हतियार सम्पन्न मुलुकमा उत्तर कोरिया पर्दछ । अतिरिक्त उत्तर कोरियाली ह्याकरहरु पनि अमेरिकालाई निशाना बनाएर विभिन्न मुलुकमा प्रवेश गरेको बताइन्छ ।
खासगरी भारत र चीनमा उत्तर कोरियाली ह्याकर प्रवेश गरिसकेको अमेरिकी गुप्तचरहरुको दाबी छ ।







