उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आफ्नो सर्वोच्च नेताको अपमान गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मृत्युदण्डको भागिदार’ रहेको बताएको छ। वर्कस पार्टीको समाचारपत्र रोदोङ सिनमुनले एक सम्पादकीय लेख्दै ट्रम्पको कडा आलोचना गरेको हो।

‘(ट्रम्पको) माफी दिनै नसकिने अपराध भनेको उनले हाम्रो सर्वोच्च नेतृत्वको गरिमामा आँच पुर्‍याउने दुस्साहस गरे,’ सम्पादकीयमा भनिएको छ, ‘उनलाई यो कुरा थाहा हुनुपर्छ, उनी मात्र एक जघन्य अपराधी हुन्, जसलाई कोरियाली जनताले मृत्युदण्डको सजाय दिएका छन्।’

आफू राष्ट्रपति बनेपछि ट्रम्पले बारम्बार उत्तर कोरियाली शासकको आलोचना गर्दै आएका छन्। पछिल्लो पटक एसिया भ्रमणमा रहेकै बेला ट्रम्पले किम जोङ उनलाई ‘भुन्टे र मोटे’ भनेका थिए।

‘किम जोङ उन मलाई किन ‘बुढो’ भनेर अपमान गरिरहन्छन्, मैले उनलाई कहिल्यै ‘भुन्टे र मोटे’ भनेको छु र!’ ट्रम्पले भियतनामको राजधानी हनोइबाट किम जोङ उनलाई ताकेर ट्विट गरेका थिए।

त्यसअघि दक्षिण कोरियाको संसदमा सम्बोधन गर्दै ट्रम्पले किम ‘क्रुर तानाशाह’ भएको टिप्पणी गरेका थिए। सो पत्रिकाको सम्पादकीयमा दक्षिण कोरिया भ्रमणको बेला डिमिलिटराइज्ड जोन भ्रमण गर्ने ट्रम्पको योजना असफल भएकोप्रति पनि व्यंग्य गरिएको छ।

खराब मौसमका कारण ट्रम्प चढेको हेलिकप्टर सोल फर्केको थियो। तर उत्तर कोरियाली पत्रिकाले खराब मौसमको ‘बहाना’लाई अस्वीकार गरेको छ।

‘यो मौसमका कारण थिएन,’ सम्पादकीयमा भनिएको छ, ‘हाम्रा सेनाका चम्किलो नजरको सामना गनुपर्ने कुराले उनी डराएका थिए।’ एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार