उत्तर कोरियाले झण्डै तीन महिनापछि एउटा उच्च स्तरकाे इन्टरनेशनल बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो। दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको जनाइएको छ।
उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यसअघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भइसकेको छैन।
उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। विश्लेषकहरु भन्छन्, प्योङयाङले संयुक्त राज्य अमेरिकाको मुख्य भूमि पनि भेट्ने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको छ।
यसअघि गत अप्रिल महिनामा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा बलेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।
अमेरिकाले उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्न चीनले अझ बढी भूमिका निर्वाह गरोस् भन्दै आएको बेला याे परीक्षणले अमेरिकालार्इ बेचैन बनाइदिएकाे बुझिएकाे छ।







