अाज बुधवार परीक्षण गरिएकाे नयाँ क्षेप्यास्त्रले अमेरिकाको जुनसुकै ठाउँमा पनि प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको उत्तर काेरियाले  जनाएको छ।

‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको ताराे बनाउन सक्ने क्षमत्ता भएको विज्ञहरुले बताएका छन्।

दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको एशिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबावबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजको छ।

पछिल्लो क्षेप्यास्त्र परीक्षण मध्यराततिर गरिएको जनाइएको छ। राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

उत्तर कोरिया र जापानबीचको समुन्द्रमा खस्नुअघि उक्त क्षेप्यास्त्रले झण्डै ५० मिनेट पूर्वतर्फ यात्रा गरेको थियो।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उक्त क्षेप्यास्त्र विगतका उत्तर कोरियाली क्षेप्यास्त्रहरुमध्ये सबैभन्दा बढी उचाइ अर्थात ४,५०० किलोमिटर माथि पुगेको बताएका छन् । यो सँगै पहिलो पटक क्षेप्यास्त्र विज्ञहरुले उत्तर कोरियाले अमेरिकी मूलभूमिको अधिकांश हिस्सामा प्रहार गर्नसक्ने क्षेप्यास्त्र विकास गरेको विश्वास गरेका छन्।

कैयौँ विज्ञहरुले उत्तर कोरियाले आफ्नो परमाणविक कार्यक्रम पूरा गर्न अझै दुईदेखि तीन वर्ष लाग्न सक्ने बताइरहँदा  दक्षिण कोरियाकै एकजना मन्त्रीले त्यो भन्दा धेरै चाँडो करिब अर्को वर्षको अन्त्यसम्ममा नै उत्तरले त्यस्तो क्षमता विकास गरिसक्ने धारणा राखेका छन्।

उत्तर कोरियाले पनि अपेक्षा गरे भन्दा द्रुत गतिमा आफ्नो परमाणविक क्षमता विकास भइरहेको बताएकाे छ। यो अढाइ महिना यता उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र प्रहार हो।

आतंकवादलाई प्रायोजन गर्ने राज्यका रुपमा ट्रम्प प्रशासनले उत्तर कोरियालाई सूचीकृत गर्दै ताजा प्रतिबन्ध लगाएको करिब एक हप्तापछि पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको हो।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार