संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार सार्वजनिक गरेको उनको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुस र चीन दुवैले निन्दा गरेका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भनेका छन् – पहिलो झलकमै सो सुरक्षा रणनीति साम्राज्यवादी रहेको देखिन्छ र विश्वमा एउटै मात्र सर्वोच्च शक्ति भएको परिकल्पनामा त्यो अड्किएको छ।
चीनको विदेश मन्त्रालयले वासिंगटनलाई शीतयुद्धकालीन मानसिकता बोकिरहेको आरोप लगाएको छ। चीनले भनेकाे छ‚ ‘याे नीतिले अमेरिका र अन्य देशहरुलाई हानि पुर्याउने छ।’
जलवायुसम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका अलग्गिनु र अन्तर-प्रशान्त साझेदारी सम्बन्धी व्यापारिक सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीपबाट अमेरिका बाहिरिनुलाई उनले आफ्नो कार्यकालको सफलताहरु भनेर प्रस्तुत गरेका छन्। धनी राष्ट्रहरुले अमेरिकाले उनीहरुको बचाउ गरेको कार्यको पहिचान गर्दै उसलाई पैसा तिर्नुपर्ने खाँचो रहेको ट्रम्पले बताए।
सुरक्षा रणनीतिको दस्तावेज निकै औपचारिक रहेको छ र त्यसमा चार वटा मूल सिद्धान्तहरु रहेका छन् जसमा मातृभूमिको सुरक्षा‚ अमेरिकी समृद्धिको प्रर्बद्धन‚ शक्तिमार्फत् शान्ति प्रदर्शन गर्ने र अमेरिकी प्रभावलाई विस्तार गर्ने रहेका छन्।
६८ पृष्ठ लामो सो दस्तावेज तयार पार्न ह्वाईट हाउसका अधिकारीहरुलाई ११ महिना लागेको थियो।







