अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकाको विपक्षमा विभिन्न देशहरुले मतदान गरे भने त्यसलाई आफूले वेवास्ता गर्ने संवादाताहरुलाई बताए। आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरुलाई सहायता रोक्ने खुल्ला चेतावनी दिने क्रममा उनले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने उल्लेख गरेका थिए।

यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेलीले आफूहरुले सहयोग उपलब्ध गराइरहेका देशहरु अमेरिकाको विपक्षमा उभिने अपेक्षा आफूले नगरेको बताएकी थिइन्।

इरानका विदेशमन्त्रीले ट्रम्पको प्रतिक्रियाले उनले लोकतन्त्रको अवहेलना गरेको प्रष्ट पारेको प्रतिक्रिया दिएका छन्। मस्यौदा प्रस्तावले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरेको छ।

महासभामा ‘भिटो’ अर्थात विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने ठानिएको छ। अमेरिकाले भिटो प्रयोग गरेकाले राष्ट्रसंघको सुरक्षा परिषद्‌मा प्रस्तुत यस्तै खालको प्रयास विफल भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार