संयुक्त राष्ट्रसंघको महासभाले ठूलो बहुमतबाट जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ।

१२८ मुलुकहरूले प्रस्तावको पक्षमा मतदान गरेभने ९ वटा मुलुकहरूले मात्रै विपक्षमा। ३५ वटा मुलुकहरू मतदानमा अनुपस्थित रहेका थिए।मतदान पछि बोल्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई प्यालेस्टिनीहरुको जीत भने।
तर इजरेली प्रधानमन्त्री बेन्जामीन नेत्यान्याहुको कार्यालयले सो नतीजालाई अस्वीकार गरेकाे छ।
क्यानडा र मेक्सिको मतदानमा अनुपस्थित रहे भने फ्रान्स, युके, जर्मनी र जापानजस्ता अमेरिकाका निकट सहयोगी राष्ट्रहरुले प्रस्तावको पक्षमा मतदान गरे।
अन्तराष्ट्रिय विश्लेषकहरू भन्छन्, याे पारित प्रस्तावपछि ट्रम्प प्रशासनका लागि ठूलाे धक्काको रुपमा हेरिएको छ।
यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारेको मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका थिए।
अरब र मुस्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपत्कालिन सत्र बिहीबार डाकिएको थियो। मस्यौदा प्रस्तावले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरेको थियो।
यसै महिनाको शुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएपछि त्यसको अन्तर्राष्ट्रिय स्तरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो।







