समानताको पक्षमा वकालत गर्ने धनीहरू के भन्ने गर्छन् भने धनी मानिसलाई धेरै पैसा दियो वा पैसा कमाउन दियो भने सबैलाई फाइदा पुग्छ किनभने यसले आर्थिक वृद्धिलाई बढाउँछ भन्ने धारणा राख्छन् । यस किसिमको विचारलाई ट्रिकल डाउन अर्थशास्त्र भनिन्छ । यस किसिमको अर्थतन्त्रको लामो इतिहास छ, तर लामो समयदेखि यो बदनामसमेत छ ।

उच्च अममानताले उच्च आर्थिक वृद्धि नभएको हामीले देखेका छौँ । धेरै अमेरिकीले के अनुभव गरेका छन् भने उनीहरूको आम्दानी कि कम हुँदै गएको छ, कि स्थिर छ । पछिल्लो समयमा अमेरिकामा ट्रिकल डाउन अर्थशास्त्रको उल्टो भइरहेको छ– गरिबलाई झन् गरिब बनाएर धनीहरूले पैसा थुपारिरहेका छन् ।
यदि एउटा पाइलाई बराबर भागमा विभाजन गरियो भने सबैले उही आकारको ‘पाइ’ पाउन सक्छन् भन्ने मानिसले सोच्छन् । यस हिसाबले उच्च वर्गका १ प्रतिशतले पनि एक प्रतिशत मात्र पाउनुपर्ने हो । तर वास्तवमा उनीहरूले ठूलो अाकारको पाइ वा पूरै पाइको झन्डै पाँच भागको एक भाग पाउँछन् । यसको अर्थ अन्य मानिसले सानो आकारको पाइ प्राप्त गर्छन् । यसो भनियो भने ट्रिकल–डाउन अर्थशास्त्रीहरू धनीको सम्पत्तिमा ईष्र्याको राजनीति गरेको भन्छन् ।
उनीहरू पाइको टुक्राको आकार कत्रो भयो भन्ने होइन कि सिंगो आकार हेर्नुपर्छ भन्छन् । धनी मानिसलाई धेरै दिँदा पाइको आकार बढ्छ । यस्तो अवस्थामा मध्यम तथा न्यून वर्गले तुलनात्मक रूपमा सानो आकारको पाइ पाए पनि उनीहरूले पहिले पाउँदै आएको आकारभन्दा चाहिँ ठूलै हुन्छ भन्ने उनीहरूको धारणा छ । यस्तै होस् भन्ने अपेक्षा मेरो हो, तर भएको छैन । वास्तवमा यसको ठीकविपरीत भइरहेको छ ।
आर्थिक असमानता बढ्दै जाँदा आर्थिक वृद्धि पनि मन्द हुँदै गएको छ । २५ देखि ३४ वर्षबीचका कम शिक्षित युवाहरूले कठिन समयको सामना गर्नुपरेको छ । विद्यालय तहको मात्र अध्ययन पूरा गरेका मानिसको आम्दानी विगत २५ वर्षमा एकचौथाइभन्दा बढीले कम भएकोे छ । तर, स्नातक तह वा सोभन्दा बढी अध्ययन गरेका मानिसको आम्दानी पनि राम्रो छैन, मध्यम स्तरकै छ । सन् २००० देखि २०१० को अवधिमा उनीहरूको आम्दानी (मूल्य वृद्धिलाई समायोजन गर्दाको) करिब १० भागको एक भाग (१० प्रतिशत) ले कमी आएको छ ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिजको ‘द प्राइस अफ इनइक्वालिटी’
(असमानताको मूल्य) पुस्तकबाट







