विश्वमा प्रत्येक वर्ष धनी र गरिबबीच डरलाग्दो दुरी, एक प्रतिशत धनीको हातमा ८२ प्रतिशत सम्पति
गरिबीसँग लडिरहेकाे एक अन्तराष्ट्रिय गैर सरकारी संस्था अक्फाम इन्टरनेशनलले धनी र गरिबबीचकाे असमानता दर निकै डरलाग्दाे ढंगले बढेकाे एक प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
अक्सफाम इन्टरनेशनलका अनुसार सन् २०१७ मा विश्वव्यापी रूपमा सिर्जना भएको कुल सम्पत्तिमा विश्वको आधा जनसंख्याको कुनै हिस्सेदारी छैन । संसारभरको कुल सम्पत्तिको ८२ प्रतिशत हिस्सा एक प्रतिशत धनाढयको स्वामित्वमा छ ।
बेलायतमा मुख्यालय रहेको ‘अक्सफाम इन्टरनेसनल’ ले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले उक्त खुलासा गरेको हो । अक्सफामले डाभाेसमा प्रत्येक वर्ष हुने विश्व आर्थिक मञ्च (डब्लूईएफ) को शिखर सम्मेलनको एक दिनअघि आफ्नो सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ ।
सन् २०१७ मा अर्बपतिहरूको सम्पत्तिमा ७ सय ६२ अर्ब अमेरिकी डलरले थपिएको छ । यो विश्वका अति विपन्नहरूको सम्पत्तिको तुलनामा सात गुणा बढी भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाका कार्यकारी निर्देशक विन्नी ब्यानिमाले यो वृद्धिलाई ‘अर्थ प्रणालीको असफलताको एउटा लक्षण भएको’ प्रतिक्रिया दिएकी छन् ।
‘जसले हाम्रा लागि कपडा बनाउँछ, फोन निर्माण र हाम्रा लागि अनाज उत्पादन गर्छ, तिनीहरू सस्तो दरमा बजारमा सामान आपूर्ति गर्न बाध्य छन् तर कम्पनीहरू तथा अर्बपतिले बढी मुनाफा कमाइरहेका छन्,’ उनले भनिन् । ‘रिवार्ड वर्क, नट वेल्थ’ नाममा जारी प्रतिवेदनमा गत वर्ष इतिहासकै सबैभन्दा बढी व्यक्ति अर्बपति बनेको उल्लेख छ । क्रेडिट स्विसको ‘ग्लोबल वेल्थ डेटाबुक २०१७’ का अनुसार विश्वमा २ हजार ४३ जना डलर अर्बपति छन्, तीमध्ये ९० प्रतिशत पुरुष छन् ।
हरेक १० अर्बपतिमध्ये एकजना मात्रै महिला रहेको उक्त तथ्यांकमा उल्लेख छ । कर छली, श्रमिकहरूको अधिकार र स्वचालीकरणमा क्षयजस्ता कारण विश्वको आर्थिक असमानताका लागि जिम्मेवार रहेको अक्सफामले जनाएको छ । संस्थाले लैंगिक रूपमा तलबमा अन्तर समाप्त गर्दै ‘लिभिङ वेजेज’ को साटो न्यूनतम ज्यालामा ध्यान केन्द्रित गर्नुपर्ने सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
‘अघिल्लो वर्ष विश्वभर आर्जन गरिएको सम्पत्तिको ८२ प्रतिशत मात्रै एक प्रतिशत मानिससँग रहेको छ, अर्बपतिको सम्पत्तिमा वृद्धि भएको छ,’ रिपोर्टमा उल्लेख छ, ‘तर, ३ दशमलव ७ अर्ब मानिसको सम्पत्तिमा कुनै वृद्धि भएको छैन, जसमा गरिबको जनसंख्याको आधा हिस्सा छ ।’
अक्सफामले भनेको छ, ‘वर्तमान विश्वव्यवापी अर्थव्यस्थाले धनाढयलाई थप धनार्जन गर्न सक्षम बनाएको छ भने करोडांै मानिसको जीवन नरकतुल्य रहेको छ ।’ यो सर्वेक्षणमा १० मुलुकका ७० हजार मानिसलाई समावेश गरिएको थियो ।
अक्सफामले विश्वको आधा जनसंख्या बराबरको सम्पत्ति आठ जनासँग मात्रै रहेको जनाएको छ । संस्थाले उल्लेख गरेको आठ उद्योगपतिहरूमा अमेरिकी ६, स्पेन र मेक्सिकोका एकएकजना रहेका छन् । संस्थाका अनुसार यी आठ जनासँग जति सम्पत्ति छ, त्यो विश्वका ३ दशमलव ७ अर्ब गरिबको सम्पत्ति बराबर रहेको छ ।