एउटा सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी लडाकु विमान खसालिदिएको बताएको छ।

ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले ‘सुखोइ-२५’ नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रको प्रयोगबाट खसालेको जनाइएको छ।
रुसी विदेश मन्त्रालयले विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको जनाएको छ। सिरियाली सरकारका फौजी कारबाहीलाई मद्दत गरिरहेको रुसले अलेप्पोबाट दक्षिणमा रहेका सडक छेउमा रहेका निशानाहरुमा बम खसाल्दै आएको थियो।
जवाफी कारबाहीमा ३० भन्दा बढी विद्रोही मारिएको मस्कोले बताएपनि त्यसको सार्वजनिक रुपमा पुष्टि भइसकेको छैन्। जमिनमा आक्रमणका लागि प्रयोग गरिने सुखोइ विमान इडलिबको मासरान क्षेत्रमा निशानामा परेको हो।
निगरानी समूहहरुका अनुसार रुसी विमानहरुले अघिल्ला २४ घण्टामा त्यहाँ दर्जनौँ हमलाहरू गरेका थिए।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा उक्त जेटमाथि आक्रमण भएको, तत्कालै आगो लागेको र त्यसपछि त्यो फन फन घुम्दै तल खसेको देखिन्छ। जमिनमा लिइएका भिडिओमा विमानको पखेटामा रातो तारा देखिन्छ।
सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा हायत तहरिर अल साम समूहले नजिकैको साराकिब शहरमा हवाई कारबाही गरिरहेको विमानलाई क्षेप्यास्त्र आक्रमण गरी खसालिदिएको जनाएको छ।
उक्त समूहले विभिन्न नाममा वर्षौँदेखि सो क्षेत्रमा गतिविधि गरिरहेको छ। भूमध्य सागरमा रहेका रुसी पानी जहाजमार्फत इडलिब प्रान्तमा हवाई क्षेप्यास्त्रहरु प्रहार गरिएको समाजिक सञ्जालमा प्रेषित विवरणहरुमा जनाइएको छ।







