विश्वका विभिन्न देशहरुमा रहेका संरा अमेरिकी सैनिक आधारहरु बन्द गर्न माग गर्दै संसारभरका अभियन्ताहरुले आगामी फागुन ११ गते(फेब्रुअरी २३) का दिन संसारभर विराेध कार्यक्रम गर्ने भएका छन् ।

त्यो दिन क्युवाको ग्वान्टानामो टापुमा संरा अमेरिकाको जलसेनाले कब्जा गरेको ११५ औं वर्ष पुग्नेछ । त्यो दिन संरा अमेरिकालगायत संसारभरका समूहहरुले विरोध प्रर्दशन गर्ने र सञ्चारमाध्यममार्फत् प्रचार गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेशी भूमिमा संरा अमेरिकी सैनिक आधारविरोधी मोर्चाको आयोजनामा सो कार्यक्रम गरिन लागेको हो । गएको महिना संरा अमेरिकाको मेरील्याण्डस्थित बाल्टिमोर विश्वविद्यालयमा भएको विदेशी भूमिमा सैनिक आधारविरोधी सम्मेलनले त्यो कार्यक्रम तय गरेको हो ।

मोर्चाले ग्वान्टानामो टापुमा संरा अमेरिकाका सबै सैनिक जवान र बन्दोबस्त फिर्ता गरी सो टापुमा संरा अमेरिकाको कुनै पनि स्वामित्व अन्त्य गर्न माग गरेको छ ।

शान्ति, न्याय र स्वाभिमानको लागि अन्तर्राष्ट्रिय समितिको क्युवाली एकाईले त्यो दिन चलचित्र निर्माता हर्नान्डो काल्भो आस्पिनाले बनाएको चलचित्र ‘अल ग्वान्टानामो इज आवर्स’ प्रदर्शन गर्न आह्वान गरेको छ ।

सो वृत्तचित्रमा ग्वान्टानामो टापुमा संरा अमेरिकी उपस्थिति क्युवाको राष्ट्रिय सार्वभौमिकतामाथि खतरा, हमला र हस्तक्षेप भएको कुरा चर्चा गरिएको छ ।

संसारका १४४ देशहरुमा संरा अमेरिकाकाे ८६० वटा सैनिक आधारहरु छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार