दोक्लम विवाद सेलाएको केही महिनापछि नै चीनले भारतसँगको सीमा क्षेत्रमा अत्याधुनिक लडाकु विमान खटाएको छ।

पछिल्लो समय दोक्लम निकटका सीमा क्षेत्रमा चीन र भारत दुवैले सेनाको उपस्थिति बढाएका छन्। विश्लेषकहरुले यसलाई अब हुनसक्ने सैन्य टकरावको तयारीका रुपमा हेरेका छन्।

हङकङस्थित साउथ चाइना मर्निङ पोष्टको अनलाइन संस्करणका अनुसार गएको साता पश्चिमी चीनमा जे–१० र जे–११ लडाकु विमानले युद्धअभ्यास गरेका थिए। सीमानजिकै दुई सैन्य शिविरमा हवाइ शक्ति निर्माण गरेको स्याटेलाइट तस्वीर सार्वजनिक भएको दुई महिनापछि चीनले यस्तो अभ्यास गरेको हो।

पछिल्लो समय भारतले पनि दोक्लमनजिकै दुई हवाइ अड्डाहरुमा थप सुखोइ–३० एमकेआइ विमान तैनाथ गरेको छ।

चीनले सो क्षेत्रमा जे–१० र जे–११ विमान तैनाथ गर्नुको अर्थ उसले भारतको तर्फबाट हुने जुनसुकै खतरालाई असफल पार्ने तयारी गर्नु रहेको जनमुक्ति सेनाका पूर्व प्रशिक्षक सङ चङपिङले बताएका छन्।

गत वर्ष ७२ दिन आमनेसामने भएपछि चीन र भारतको सैन्य तनाव कम भएको थियो। तर त्यसयता चीनले भारत र भुटानसँगको सीमा क्षेत्रमा सडक निर्माण कार्य जारी राखेको समाचार आएका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार