चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा माओत्से तुङपछिको सबैभन्दा शक्तिशाली नेता मानिएका वर्तमान राष्ट्रपति सि जिङपिङले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको नयाँ मोडल ‘सि जिङपिङ विचारधारा’ आइतवार सार्वजनिक गरिएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइतवार चिनियाँ राष्ट्रपति जिङपिङको चिनियाँ विशेषता सहितको समाजवाद सम्बन्धी नयाँ विचारधारा सार्वजनिक गरिएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमवार बेईजिङमा सुरु हुनुअघि सि जिङपिङको विचारधारालाई संविधानमा समेत संस्थागत गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसअघि गत महाधिवेशनबाट चिनियाँ राष्ट्रपति जिङपिङको नयाँ समाजवादी विचारलाई संविधानमै संस्थागत गर्ने प्रस्ताव पारित भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा राष्ट्रिय नीति निर्धाण गर्न, नेतृत्व चयन गर्न, महत्वपूर्ण परिपाटी लागू गर्न तथा ठूला निर्णय गर्नका लागि पूर्ण बैठकको आयोजना हुने गर्दछ । ‘प्लेनरी सेसन’ भनिने पूर्ण बैठक सीपीसीको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली अंग मानिन्छ । यसमा केन्द्रीय सदस्य, केन्द्रीय वैकल्पिक सदस्य, केन्द्रीय अनुशासन आयोगका सदस्यहरु र केन्द्रीय कार्य विभाग तथा संगठन विभागका पदाधिकारीहरु सहभागी हुन्छन् ।
सोमबारबाट सुरु भई बुधवारसम्म चल्ने केन्द्रीय समितिको बैठकले नेतृत्वदायी पदहरुमा नयाँ व्यक्तिहरुलाई समेत चयन गर्नेछ । चिनियाँ राष्ट्रपति सि जिनपिङले आफ्ना सहयोगीहरु केही परिवर्तन गर्छन कि भन्ने कोणबाट समेत उक्त बैठकलाई हेरिएको छ । जसअनुसार वर्तमान महासचिव सी चिनफिङ अझ शक्तिशाली बन्दै आएका छन् । सोमबारबाट केन्द्रीय समितिको बैठक सुरु हुनु अघि शनिबार पोलिटब्यूराको बैठक सम्पन्न भएको थियो । शनिवारको पोलिटब्यूरो बैठकले निकै दुरगामी महत्वपूर्ण निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
केन्द्रीय समितिको बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको अध्यक्ष, उपाध्यक्ष चयन गर्नेछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको अध्यक्ष पनि तोक्नेछ । त्यसैगरी उपराष्ट्रपति र उपप्रधानमन्त्रीहरु पनि यही बैठकले निश्चित गर्नेछ ।







