चिनियाँ राजनीतिक जीवनमा निकै महत्व राख्ने दुई ठूला राजनीतिक अधिवेशन शनिबारदेखि हुँदैछन्।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च ३ र तेह्रौं राष्ट्रिय जनकांग्रेस (एनपीसी) को पहिलो अधिवेशन मार्च ५ मा जनवृहत् सभाभवन, बेइजिङमा आयोजना हुँदै गर्दा विश्वको ध्यान एकपटक बेइजिङतर्फ सोझिएको हुनेछ।
शनिबारदेखि सीपीपीसीसीको बैठक चल्ने भएपनि विश्वको ध्यान सोमबारदेखि ग्रेटहल अफ द पिपुल्सतर्फ मोडिनेछ। कारण, पाँच वर्षे कार्यकाल भएको यो निकाय राज्यशक्ति अभ्यासको सबैभन्दा ठूलो निकाय हो।
करीब २२०० जना नयाँ अनुहार सहित कूल २९८० प्रतिनिधिले यसपालि सहभागिता जनाउने जनकांग्रेस सम्मेलनले दूरगामी प्रभाव पार्ने निर्णय गर्ने भएकाले यतिविघ्न चासो बढेको हो।
यसै अधिवेशन अवधिमा चीनले देशको भावी कार्ययोजना तय गर्दछ भने विश्वमा प्रभाव पर्ने रणनीतिहरू बनाउने गर्दछ। यसपटक सबैभन्दा चासोका साथ हेरिएको एउटा विषय संविधान संशोधन हो। कारण, १४ वर्षपछि हुन लागेको यो संशोधनपश्चात् चिनियाँ राजनीतिमा राष्ट्रपति र उपरराष्ट्रपति दुई कार्यकाल मात्रै रहने भन्ने प्रावधान हटाइनेछ।
यसअघि सन् १९८२ मा लागू गरिएको यो संविधानको चार पटक संशोधन गरिएको छ। सन् १९८८, १९९३, १९९९ र २००४ मा संशोधन गरिएको थियो।

जनकांग्रेस प्रतिनिधिहरूले सरकारी कार्य प्रतिवेदनको समीक्षा गर्नेछन्। यस वर्षभरि के के काम गर्नेरु कस्तो रणनीति लिएर विकासको खाका कोर्ने भन्ने छलफल हुनेछ भने अघिल्लो वर्ष सरकारको काम के कस्तो रह्यो भनेर समीक्षा पनि गर्दछ।
सन् २०१७ राष्ट्रिय आर्थिक तथा सामाजिक विकास सम्बन्धी वार्षिक योजना कार्यान्वयन प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सन् २०१८ का लागि राष्ट्रिय आर्थिक तथा सामाजिक विकास सम्बन्धी वार्षिक योजना निर्धारण गर्नेछ।
अधिवेशनले सन् २०१७ केन्द्रिय तथा स्थानीय बजेट कार्यान्वयनको जाँचबुझ गर्नेछ र सन् २०१८ का लागि केन्द्रिय तथा स्थानीय बजेट तर्जुमा गर्नेछ।
संविधान संशोधनको मस्यौदा, जनकांग्रेस स्टाण्डिङ कमिटीको कार्यप्रतिवेदन, अनुगमन सम्बन्धी कानुनी मस्यौदा र सर्वोच्च जनअदालत जस्ता विषयमा जनकांग्रेस प्रतिनिधिहरूको रायसुझाव पनि यहीँबाट संकलन गरिनेछ।
चीनले राज्यका विभिन्न संस्थाहरूको पुनःसंरचना गर्दैछ। त्यसका लागि राष्ट्रिय जनकांग्रेसको तर्फबाट पारित गरिनुपर्दछ। यस अधिवेशनको एक महत्वपूर्ण एजेण्डाका रूपमा यसलाई किन हेरिएको छ भने उत्पादनका क्षेत्रमा व्याप्त अवरोध हटाउनका लागि चीनले ठोस कदम चाल्नसक्छ। यस निर्णयले अन्तर्राष्ट्रिय जगतमा पनि प्रभाव पार्नेछ।
यसपटक नयाँ विकास लक्ष्य तय गर्नु अर्को महत्वपूर्ण मुद्धा हुनेछ। चीनले सन् २०१८ मा नयाँ विकासको रणनीति शुरू गर्नेछ। किनकि यसै वर्ष चीनमा सुधार तथा खुलापनको नीति लागू भएको चालीसौं वार्षिकोत्सव पनि हो। यसै अवसरमा चीनले हरित विकासलाई पनि जोडेर नवीन विकासको अवधारणा तय गर्नेछ। चिनियाँ विकासको दिशानिर्देश यसै अधिवेशनबाट हुनेछ।
नयाँ भ्रष्टाचार विरोधी निकायको स्थापनाका लागि जनकांग्रेसले बाटो तय गर्नेछ। भ्रष्टाचार निरूत्साहित गर्न चीनले अनेकन कदम चालिरहेको सन्दर्भमा यस अधिवेशनबाट राष्ट्रिय अनुगमन आयोगको खाका बनाउनेछ। यसअघि सन् २०१७ मा १८औं सीपीसी केन्द्रिय अनुशासन अनुगमन आयोगले कार्यतालिका तय गरेको थियो। यस १३औं एनपीसीको पहिलो अधिवेशनबाट राष्ट्रिय अनुगमन कानुन, राष्ट्रिय निरीक्षण आयोग गठन र अधिकारीहरूको निर्वाचन गर्ने योजना छ।
चिनियाँ दुई ठूला अधिवेशनले नयाँ प्रधानमन्त्रीको चयन गर्नेछ। साथै सीपीपीसीसी राष्ट्रिय समितिका लागि पनि नयाँ नेता निर्वाचित गर्नेछ।
सीपीपीसीसी
जनकांग्रेसभन्दा अगाडि चिनियाँ राजनीतिक जीवनका नियमित तर महत्वपूर्ण मामिला समेट्ने सीपीपीसीसी सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन हुनेछ। यो निकाय चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका बहुपार्टी सहयोग तथा राजनीतिक परामर्श गर्ने महत्वपूर्ण संस्था हो भने समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो।
यसको गठन सन् १९४९ मा जनगणतन्त्र स्थापना हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु र निर्दलीय तथा अन्य जनसंगठनहरुको संयोजनमा भएको हो। त्यतिबेला सम्मेलनको पहिलो पूर्ण बैठकले जनगणतन्त्र चीनको घोषणा गर्दै माओको अध्यक्षतामा केन्द्रीय जनसरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समितिको निर्वाचन गरेको थियो।
यही सम्मेलनबाट चीनको राजधानी, चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय धुन र इस्वी संवतको प्रयोग सम्बन्धी निर्णय भएको थियो। सन् १९५४ मा चीनको सर्वोच्च राष्ट्रिय अधिकारको अंग राष्ट्रिय जनकांग्रेस स्थापनापछि भने राजनीतिक परामर्शदात्री सम्मेलनको अधिकार कटौती भयो तापनि यो राष्ट्रिय एकीकृत मोर्चा नै हो।
सीपीपीसीसीमा विभिन्न स्थानीय समितिहरु पाँच पाँच वर्षको कार्यावधिका लागि बनेका हुन्छन् जसको हरेक वर्षमा एकपटक पूर्ण बैठक बस्ने गर्दछ। सीपीपीसीसीको मुख्य काम नै राजनीतिक परामर्श, अनुगमन र सरकारी तथा राजनीतिक विषयमा भाग लिनु हो। त्यसैले यसले जनकांग्रेसका लागि प्रस्तावहरू तयार गर्दछ।
यसअघि महाधिवेशन सत्रका लागि ली च्यानको महासचिव रहेको १६९ सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको थियो। १२औं राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष चाङ त च्याङले राष्ट्रिय विधायकहरूले सरकारी कार्यप्रतिवेदन, राष्ट्रिय अर्थिक तथा सामाजिक विकास योजना, केन्द्रिय तथा स्थानीय बजेट, जनकांग्रेसका प्रतिनिधिको निर्वाचन सम्बन्धी तीन वटा कानुन तथा सामाजिक न्याय सम्बन्धित प्रावधानबारे छलफल हुने बताए।
अधिवेशनले चीनका सबै जातीय समूहहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीभित्र र पार्टी महासचिव सी चिनफिङको वरिपरि अझ घनिष्ठ रूपले एकीकृत गरी मुलुकको दुई शताब्दी लक्ष्य तथा वृहत् राष्ट्रिय पुनःनिर्माणको चिनियाँ सपनाको अनुभूत गराउने उद्देश्य लिएको पनि उनले पत्रकारमाझ सुनाए।
यसपटकको अधिवेशनका दौरान ३ हजारभन्दा बढी स्वदेशी तथा विदेशी संचारकर्मीहरू बेइजिङमा भेला हुनेछन्।







