सन् १९६४ देखि शुरू भएकाे काेलम्बियाकाे क्रान्तिकारी सशस्त्र शक्ति अन्तत सन् २०१७ मा अाएर शान्तिवार्तामा सम्झाैतामा अाएर टुंगियाे ।ठूलाे शक्ति अार्जन गरेकाे समुहले हालै काेलम्बियामा भएकाे चुनावमा नराम्राेगरी पराजय भाेग्याे ।
त्यहाँकाे चुनावमा काेलम्बियाली क्रान्तिकारी सशस्त्र समुहले भाेगेकाे पराजयबारे विश्लेषक झलक सुवेदीकाे यस्ताे छ संक्षिप्त विश्लेषण –

गतसाता कोलम्बियामा संसदीय निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा सशस्त्र विद्रोह बिसाएर शान्ति प्रक्रियामा आएको फार्क समूह पनि सामेल भएको थियो । शान्ति प्रक्रियामा फार्क विद्रोहीलाई सामेल गराउँदा उनीहरूले सशस्त्र विद्रोहका क्रममा गरेका ज्यादतीलाई लिएर दण्डित हुनु नपरेको भन्दै एकथरी जनमत शान्ति प्रक्रियाप्रति नै असन्तुष्ट थियो ।
फार्कका उम्मेदवारले निर्वाचनको राम्ररी सामना गर्न पनि सकेनन् । कतिसम्म भयो भने निर्वाचन प्रचारमा जान पनि उनीहरूलाई मुस्किल प-यो । ठाउँठाउँमा भएका आक्रमणका घटनापछि निर्वाचनको दुई सातापहिले नै उनीहरूले निर्वाचन प्रचार स्थगित गर्नुप-यो । निर्वाचन त भयो तर उनीहरूले कुल सदर मतको एक प्रतिशत पनि ल्याउन सकेनन् ।
झन्डै ०.८४ प्रतिशतमा चित्त बुझाउनु प-यो । शान्ति प्रक्रियामा सामेल हुँदा सात हजार लडाकुले हतियार बिसाएको कुनै राजनीतिक दलले ल्याएको यो ८० हजारजति मत आफैँमा एउटा उदेकलाग्दो दृष्टान्त हो । अरू वामपन्थीको पनि त्यहाँ कुनै प्रभावशाली उपस्थिति भएन । बरु शान्ति प्रक्रियाको सुरुदेखि नै विरोध गर्दै आएका पूर्वराष्ट्रपति उरिवेको दक्षिणपन्थी दलले राम्रो प्रदर्शन ग-यो ।
कोलम्बियामा न त फार्क विद्रोही, न अरू वामपन्थी नै प्रभावशाली देखिए । दक्षिण अमेरिकामा गतवर्ष भएका निर्वाचनमा अर्जेन्टिना र चिलीमा पनि वामपन्थी पराजित भएका थिए । भेनेजुएलाको अवस्था संकटग्रस्त छ । ब्राजिलमा भने वर्कर्स पार्टीका नेता तथा पूर्वराष्ट्रपति लुला डी सिल्भाले आउने निर्वाचनमा जित्ने संकेत देखिएका छन् ।
राष्ट्रपतिमा उरिवे समर्थकले जित्नु भनेको फासिस्टहरू फेरि सत्तामा फर्कनु जस्तै हो, जसले लामो समय उद्दण्ड मिलिसियालाई परिचालन गरेर राजनीतिक रूपमा शान्तिपूर्ण राजनीतिमा रहेका वामपन्थी र प्रगतिशीलको हत्या गरेका थिए । जनतालाई दमन गरेका थिए ।
सशस्त्र शक्तिका रूपमा झन्डै १९५८ देखि नै हतियारबन्द आन्दोलनमा रहेका फार्क विद्रोहीहरू जनमतबाट ठाडै अस्वीकृत हुनुले अरू देशका विद्रोहीका लागि पनि अवश्य पाठ हुनेछ ‘हतियार उठाऊ या निर्वाचन लड तर जनमत तिमीसँग छैन भने दुवैतिर असफल हुनेछौ ।’







