
भारतले चीनसँग सीमा जाेडिएकाे उत्तरी क्षेत्रमा सैनिक संख्या र भौतिक पूर्वाधार विकासलाइ तीब्र पारेपछि चीन र भारत अब अामनेसामने भएका छन् ।
दोक्लाम विवादपछि चीनसँग सीमा जोडिएको क्षेत्रमा भारतले सैनिक उपस्थिति मजबुत बनाउन सैनिक संख्या र सुविधा थपेकाे छ ।
यसै वर्षको शुरुमा भारतीय सेनाका प्रमुख विपिन रावतले पाकिस्तानी सीमाबाट चीनतर्फको सीमा ध्यान केन्द्रित गर्ने समयमा आएको बताएका थिए। उनले ‘भारतीय सेना साढे २ मोर्चाका लागि तयार रहेको’ बताएका थिए। बाह्य चुनौतीको रुपमा पाकिस्तान र चीन र आन्तरिक रुपमा स्लामिक अतिवादी र माओवादी विद्रोहको सामना गर्न सेना तयार रहेको उनले बताए।
टाइम्स अफ डन्डियाले पश्चिमको लद्दाखदेखि पूर्वको अरुणाञ्चल प्रदेशसम्म भारतले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको जनाएको छ।
अरुणाञ्चल प्रदेशको सुरक्षामा मात्रै चार डिभिजन तैनाथ र २ डिभिजन रिजर्भ राखिएको जनाएको छ। एउटा डिभिजनमा १२ हजार सैनिक हुन्छन्। त्यसैगरी पूर्वी कमाण्ड अन्तर्गतको यस क्षेत्रको सामरिक केन्द्रहरुमा तीन वटा सैनिक अस्तापल २ वर्षभित्र निर्माण गर्ने गरी काम शुरु भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।
चीनले अरुणाञ्चल प्रदेशलाई आफ्नो भूभाग मान्छ। चीनले त्यसलाई दक्षिण तिब्बत भन्दै आएको छ । भारतले सन् २०२० सम्ममा परमाणु बोक्न सक्ने युद्धक विमानहरु तैनाथ गर्ने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।







