उत्तर कोरियाले ६ देखि १८ महिना भित्रमै बेलायतसम्म पुग्ने क्षमतायुक्त ब्यालेस्टिक मिसाइलको तयारी पूरा गर्ने बताइएको छ ।

उत्तर कोरियाका गतिविधिहरुबारे महिनौँसम्म अध्ययन गरिरहेको बेलायती समूहले यस विषयमा तयार पारेको रिपोर्ट सार्वजनिक गर्दै सो चेतावनी दिएको छ ।

तर लगातार खतराको संकेत दिइरहेपनि उत्तर कोरियाले आणविक हतियारसहित मिसाइल तयारी अवस्थामा राख्ने सम्भावना भने कमै रहेको बताइएको छ । विश्व समुदायका लागिसमेत ठूलो चिन्ताको विषय भएकाले विभिन्न देशका विज्ञहरुले गम्भीरतापूर्वक उत्तर कोरियाका क्रियाकलापमाथि अनुसन्धान गरिरहेका छन् ।

उनीहरुले नेता किम जोङ उनलाई क्रुर तर बुद्धि पुर्याएर मात्र काम गर्ने किसिमको व्यक्तिका रुपमा व्याख्या गरेका छन् ।

उनी अन्य निरंकुश शाषक जस्तै निर्दयी स्वभावको भएपनि उनकै देशका विगतका नेतालाई हेरेर उनी तर्कसाथ काम गर्ने किसिमको देखिएकाले नीतिअनुरुप चलेर आणविक हतियारको प्रयोग नगर्ने सम्भावना पनि उत्तिकै रहेको विज्ञहरुको भनाइ छ ।

उत्तर कोरियाले हालसम्म ६ पटक ठूला ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ र विश्लेषकहरुका अनुसार उनीहरुसँग अमेरिकासम्म पुग्ने पर्याप्त क्षमता भएको हतियार पनि छ । प्योङयोङले हालै यसबारे दाबी गर्दै कडा चेतावनी दिएको थियो । तरपनि गत महिनाको दोहोरो समझदारीपछि किमले हतियार कार्यक्रम अन्त्य गर्ने आश्वासन दिएका हुन् ।

यसैकारणले अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँग भेट गर्न समेत सहमति जनाउँदा आगामी मे मै बैैठक बस्ने तय भइसकेको छ ।

तर उत्तर कोरियाले पछिल्ला केही महिनामा यसरी कूटनीतिक सम्बन्धका लागि हात अघि बढाइरहेपनि पूर्ण रुपमा हतियार त्याग गर्ने कुरा भने असम्भव रहेको विज्ञहरुको भनाइ छ । आफ्नो उद्देश्य पूरा नभए उत्तर कोरियाले कुनै पनि बेला फेरि हमलाको धम्की दिने निश्चित रहेको बताइएको छ ।

तरपनि उत्तर कोरिया अहिलेसम्म अमेरिकामै धेरै केन्द्रित रहेकाले बेलायतमाथि पहिलो प्रहार गर्नु अस्वभाविक हुने पनि उनीहरुले उल्लेख गरेका हुन् । भविष्यमा यस प्रकारको युद्ध हुने नै हो भने बेलायतले अमेरिकालाई नै साथ दिने बताइन्छ ।

तरपनि उत्तर कोरियाको नजर बेलायतमा पटक्कै छैन भन्नु भने गलत हुने बताइएको छ । किनकी गतवर्षको सबैभन्दा ठूलो वानक्राइ साइबर हमलाका पछाडि उत्तर कोरिया नै रहेको पुष्टि भएको थियो ।

उक्त हमलाले बेलायतका अधिकांश अस्पताल, व्यवसाय, बैँक लगायतका क्षेत्रमा सबै काम ठप्प पारिदिएको थियो । त्यसकारण यस प्रकारको हमलालाई हेरेर आगामी भविष्यको सुरक्षाका निम्ति तयार रहन बेलायतले आफ्नो प्रतिरक्षामा बढी लगानी गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार