
सिरियामा अमेरिकाले क्षेप्यास्त्र प्रहार गरे त्यसलाई खसाइदिने लेबनानका लागि रुसी राजदूत अलेक्जेण्डर जासिप्किनले बताएका हुन्।
अमेरिकाले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनाका बीच एक रुसी कूटनीतिज्ञले त्यस्तो आक्रमण भए रुसले जवाफ दिने बताएका छन्। उनले त्यस्तो क्षेप्यास्त्र प्रक्षेपण गरिएको स्थानलाई समेत रुसी सेनाले निशाना बनाउने दाबी गरे।
‘यदि अमेरिकाले आक्रमण गरे उसको क्षेप्यास्त्र खसाइन्छ र प्रक्षेपण स्थलमा समेत आक्रमण गरिन्छ,’ राजदूत जासिप्किनले भने। उनले आफूहरु संवादको पक्षमा रहेको पनि बताए।
मंगलबार सिरियामा भएको रासायनिक आक्रमणबारे छानबिन गर्ने एकअर्काको प्रस्तावलाई अमेरिका र रुसले विफल बनाएका छन्।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबारे निर्णय गर्नभन्दै आफ्नो ल्याटिन अमेरिकाको भ्रमण रद्ध गरेका थिए।
उनले सिरियाबारे ‘दुई दिनभित्र महत्वपूर्ण निर्णय’ लिइने बताएका थिए।
त्यसयता अमेरिकाले सिरियामा क्षेप्यास्त्र प्रहार गर्ने आशंका गरिँदै आएको थियो। तर रुसले त्यसको कठोर प्रतिक्रिया दिने जनाएपछि सिरियालाई लिएर महाशक्तिहरुबीच नै सैन्य तनाव उत्पन्न हुने सम्भावना बढेको हो।
सोही आक्रमणको सम्भावनाका कारण युरोपेली उड्डयन सुरक्षा एजेन्सीले सिरियाको आकाशबाट तर्किन आग्रह गरेको छ।
यसअघि सोमबार बिहान इजरायलले सिरियाको एक सैन्य आधारशिविरमा आक्रमण गर्दा १४ जनाको मृत्यु भएको रुस र सिरियाले जनाएका थिए। एजेन्सी







