
झण्डै एक दशकदेखि नै युद्धको सामना गर्दै आएको सिरियाको आकाशमा अन्तर्राष्ट्रिय द्वन्द उत्कर्षमा पुग्नै लागेको छ ।
अमेरिकाले केमिकल आक्रमणको जवाफ दिने भन्दै शक्तिशाली सैन्य जहाज सिरिया नजिक मात्रै पु¥याएको छैन, राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम आदेशको प्रतिक्षा गरिहेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पको आदेश पाउने वित्तिकै रसिया समर्थित सिरियाका राष्ट्रपति बसर अल असदका सेनाविरुद्धमा अमेरिकाले हवाई आक्रमण सुरु गर्ने अमेरिकी सेनाले जनाएको सिएनएनले उल्लेख गरेको छ ।
सिरियामा हवाई आक्रमण गर्ने लक्ष्यसहित टोमहक क्रुज मिसाइलसहितको दुई अमेरिकी बिनाशक पानी जहाज तयारी अवस्थामा राखिएको सिएनएनले जनाएको छ ।
बिहिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत रसियालाई अमेरिकी मिसाइलको प्रतिरक्षा गर्न तयारी अवस्थामा रहनु आग्रह गरेका थिए । सो आग्रह लगत्तै सिरिया नजिकैको समुन्द्रीतटमा अमेरिकी जहाजले गस्ती गर्न थालेको जनाइएको छ ।
सो सम्बन्धमा बुधवार अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाईट हाऊसमा छलफल गरेका थिए । नियन्त्रित मिसाइल प्रतिक्षा प्रणालीसहित उपस्थित भएको अमेरिकाले सिरियामा हवाई आक्रमण सुरु गरेमा रसियाले पनि त्यसको जवाफ दिने संकेत दिइसकेको छ ।
रसियाले अल असदको सरकारलाई दिँदै आएको सुरक्षा थप बलियो बनाउन तयार रहेको सन्देश प्रवाह गरिसकेको छ ।
अमेरिकाले आईएसको जन्म हुने गरी सिरियाको विद्रोहीहरुलाई हतियार वितरण गरेको आरोप रसियाले लगाउँदै आएको छ । पछिल्लो समय सिरियाली सरकारले विद्रोहीलाई धपाउँदै लगेको छ ।
सिरियामा चलेकाे युद्धका कारण सिंगाे विश्व ध्रुवीकृत हुँदै जाँदा विश्व विश्वयुद्धतिर धकेलिने विश्लेषकहरूले विश्लषण गर्न थालेका छन् ।







