चिनियाँ सुरक्षाबलले बुधबार अमेरिका र ताइवानलाई लक्षित गर्दै सैन्य हवाइ अभ्यास सुरु गरेको ताइवानको स्थानीय संचारले जनाएकाे छ ।

संवेदनशील क्षेत्र मानिने दक्षिणपूर्वतर्फ नै चीनले सैन्य प्रदर्शन गरेपछि ताइवानले घटनाप्रति आपत्ति जनाइरहेको बताइएको छ । चिनियाँ राष्ट्रिय संचारले भने उक्त सैन्य अभ्यास ताइवानको कानूनी स्वतन्त्रता पाउने प्रयासको विरोधमा सुरु गरिएको जनाएको छ ।

अमेरिकाकाे सहयाेगमा चीनबाट छुट्टै राष्ट्र बनेकाे ताइवान राष्ट्रपति साइ इङ वेन स्वाजील्यान्ड भ्रमणमा गएकै समय चीनले ताइवानबाट केबल १७० किलोमिटरको दुरीमा सैन्यबल प्रदर्शन गर्दै धम्की दिइरहेपछि रक्षा मन्त्रालयका प्रवक्ताले बुधबार आक्रोश जनाएका हुन् । चीनले भने उक्त सैन्य प्रदर्शन पछिल्लो हप्ता ताइवानको सैन्य अभ्यासको प्रतिउत्तरमा गरिएको भन्दै १६ घण्टासम्म जारी राख्ने बताएको छ ।

ताइवानका जनतामा प्रभाव पार्न चीनले बारम्बार यस्तो प्रयास गर्ने गरेको ताइवानका प्रमुख कानून निर्माताको भनाइ छ । चीनबाट सैन्य खतरा भन्दा पनि जनतामाथिको प्रभाव हावी हुन सक्ने उनले बताए । चीनले लामो समयदेखि नै ताइवानलाई चीनभित्रै पर्ने अर्को क्षेत्र रहेको दाबी गर्दै आएको छ ।

१९४९ को चिनियाँ क्रान्तिपछि दुवै देशमा छुट्टा छुट्टै शाषण रहँदै आएपनि चीनले ताइवानलाई कानूनी रुपमा स्वतन्त्रता दिलाउनेबारे लगातार विरोध जनाउने गरेको छ । ताइवानका ८० प्रतिशत जनता पनि चीनसँग एक हुने योजना विरुद्ध रहेको सर्वेक्षणले देखाएको बताइन्छ । तरपनि ताइवानले भने चीनको धम्कीेसँग कहिल्यै नडराउने भन्दै स्वतन्त्रताको प्रक्रिया अघि बढाइरहने अडान लिएको छ ।

ताइवानकी राष्ट्रपति साइ इङ वेनले पनि दुवै देशलाई एउटै राष्ट्र मान्ने बेइजिङको योजना विरुद्ध कडा प्रतिक्रिया दिँदै आएकी छन् ।

उनले २०१६ मा सत्ता सम्हालेदेखि नै ताइवान र चीनबीच कुनैपनि औपचारिक वार्ता नभएको बताइन्छ । उनकै सरकारमा थुप्रै वरिष्ठ अधिकारीहरुले पनि कानूनी स्वतन्त्रतालाई समर्थन गर्दै आएकाले चीनले पछिल्ला दिनहरुमा ताइवानी सरकारको हरेक कदमप्रति कडा नजर राख्ने गरेकोे बताइएको छ ।

साइको कार्यकाल सुरु भएदखि नै चीनले ताइवानमा विमानवाहक पठाउनुका साथै ताइवान सीमा क्षेत्र वरिपरि लडाकू विमान समेत उडाएको अधिकारीहरुको भनाइ छ । त्यसैगरी चीनले ताइवानलाई संयुक्त राष्ट्रसँग सहकारिता जनाउनमा पनि रोक लगाउँदै आएको छ ।

यसअघि २०१६ मा पनि चीनले ताइवान सीमाकै नजिक सैन्य अभ्यास गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार