ऐतिहासिक र सफल भनिएको शिखरवार्तामा ‘शान्तिको नयाँ युग सुरुवात’ भएको घोषणा गरेका किम जोङ उन धुमधामको रात्रीभोजपछि दक्षिण कोरियाको सीमावर्ती गाउँ पान्मुन्जोमबाट शुक्रबार साँझ विदाइको हात हल्लाउँदै घर फर्के।

किम र राष्ट्रपति मुनबीच युद्धलाई औपचारिक रुपमा अन्त्य गर्ने, प्रायद्वीपको आणविक निशस्त्रीकरण गर्ने, आपसी कूटनीतिक संयन्त्र सञ्चालनमा ल्याउने, दुई देशलाई जोड्ने सडक र रेलमार्ग सञ्चालनमा ल्याउनेलगायतका महत्वपूर्ण सहमति भए।
शिखरवार्तामा दुवै देशका नेताहरुको सौहार्द्रता देखेर कोरिया संकटलाई नियालिरहेकाहरुमध्ये थुप्रै चकित पनि भए। यसले शान्तिपूर्ण भविष्यको सम्भावनालाई पुनः जीवित बनाएको छ।
तर के वास्तवमै कोरियाली प्रायद्वीपमा शान्ति सम्भव छ? कोरियामा भूरणनीतिक चलखेल गर्ने शक्ति राष्ट्रहरुको स्वार्थ के छ? के कोरियाली जनले खोजेको शान्ति र ती शक्ति राष्ट्रहरुको शान्तिको परिभाषा मिल्छ? यदि त्यो परिभाषा अलगअलग भए तिनले कोरियामा शान्ति आउन देलान्? यो वार्तामा किमको, मुनको, ट्रम्पको वा सीको नियत के छ? के उत्तर कोरियालाई आणविक शक्तिसम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अन्य राष्ट्र तयार होलान्? के उत्तर कोरिया एकतर्फी रुपमा आणविक निशस्त्रीकरणका लागि तयार होला? अथवा, दक्षिण कोरियाबाट आफ्नो सेना फर्काउन अमेरिका तयार होला? यस्ता प्रश्नहरुको उत्तर दिन भने सजिलो छैन।
शिखरवार्ताको परिणामलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटलाई ध्यान नदिने हो भने ह्वाइट हाउसको प्रतिक्रियामा खास उत्साह छैन। ‘वार्ताले प्रगति गर्नेछ र कोरियाली प्रायद्वीपको शान्तिपूर्ण र समृद्ध भविष्यतर्फ लैजानेछ भन्नेमा हामी आशावादी छौँ,’ ह्वाइट हाउसले भनेको छ।
उता जापानी प्रधानमन्त्री सिन्जो आबेले त उत्तर कोरियाको तर्फबाट ठोस कामकै माग राखे। ‘अब म उत्तर कोरियाको क्रियाकलापलाई नजिकबाट नियालिराख्नेछु,’ उनले भने।
उत्तर कोरियालाई नियालिरहेका विज्ञहरु पनि कोरियामा साँच्चै शान्ति आउनेछ भन्नेमा शंका गरिरहेका छन्। थुप्रै विज्ञ किम जोङ उनलाई विश्वास गर्न सकिरहेका छैनन्। ‘किम जोङ उन रसिक खालको मान्छे देखिँदैमा उनको नियत सफा छ भन्न सकिन्न। उनले फेरि क्षेप्यास्त्र प्रहार गर्नेछैनन् भन्न सकिन्न,’ जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसनकी क्याथरिन डिलको भनाइ सिएनएनले उधृत गरेको छ।
अर्कोतर्फ कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि अघि बढ्ने बताइएको छ। पश्चिमको आँखामा यस्तो निशस्त्रीकरणको अर्थ उत्तर कोरियाले आफूसँग भएको हतियार त्याग्नु हो। तर यत्तिको समय र उर्जा खर्च गरेर उत्तर कोरियाले आर्जन गरेको हतियार उसले एकतर्फी रुपमा त्यत्तिकै त्याग्ने सम्भावना देखिँदैन। त्यसको बदलामा अमेरिकाले उत्तर कोरियाबाट आफ्नो सेना झिक्ने वा कुनै अर्को शक्तिराष्ट्रले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरिदिने कुरा पनि निकै कठिन लाग्छ। उत्तर कोरियाले आणविक हतियार नभएका इराक, लिबियाजस्ता देशको पतन आफ्नै आँखाअगाडि देखेको छ।
‘उत्तर कोरियाले आफ्नो आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रको भण्डार रित्याउने सम्भावना क्षीण छ,’ एसिया विश्लेषक मिहा रिबेनिक भन्छन्।
रिबेनिकका अनुसार उत्तर कोरियाले पछिल्लो समय देखाएको ‘मनमोहिनी रुप’ जतिसक्दो आर्थिक र सुरक्षासम्बन्धी फाइदा लिनका लागि हो।
अर्को अनौठो पक्ष के छ भने विश्वका शक्तिराष्ट्रहरुका बीच अहिलेको यो कूटनीतिक प्रगति कसरी हासिल भयो भन्नेमा समेत विवाद छ। सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति ट्रम्प अघि सरेर आफूले अपनाएको ‘अधिकतम दबाब’ को नतिजास्वरुप वार्ता सम्भव भएको बताएका छन्।उनले सहयोगका लागि राष्ट्रपति सीलाई धन्यवाद दिएका छन्।
उता उत्तर कोरियामा भने शान्ति प्राप्तिको जस किमले आफूलाई नै दिएका छन्। ‘म हरेक दिन उत्तर कोरियाली टिभी हेर्छु,’ भागेर दक्षिण कोरिया पुगेका पूर्व उत्तर कोरियाली कूटनीतिज्ञ थाय योङ हो भन्छन्, ‘पछिल्लो शान्तिपूर्ण वातावरण आणविक हतियार विकासमा उत्तर कोरियाले प्राप्त गरेको सफलताको प्रत्यक्ष नतिजा भएको यसले बताइरहेको छ।’
सबै बाधा पन्छाएर कोरियामा संवाद अघि बढेछ भने पनि भूराजनीतिक दाउ खेलिरहेका राष्ट्रमध्ये सबैले जित्ने सर्तको खोजी भएमात्रै त्यहाँको शान्ति दीगो हुनेछ।
जे होस् अप्रिल २७ को शिखरवार्ताले ट्रम्प र किमबीचको शिखरवार्तालाई भने सुनिश्चित गरेको छ। शुक्रबार नै ट्रम्पले आफूहरु सम्झौताका लागि जाने तर सम्झौता नभए पनि केही फरक नपर्ने बताएका छन्।
‘आशा छ, हामी सम्झौतामा पुग्नेछौँ,’ ट्रम्पले भने, ‘यदि सम्झौता भएन भने पनि ठीकै छ।’ एजेन्सी







