अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक पत्र पठाउँदै सो शिखरवार्ताबाट आफू बाहिरिने घोषणा गरेका हुन्।
ट्रम्पले उत्तर कोरियाका तर्फबाट आफूहरुप्रति व्यक्त गरिएको ‘खुला शत्रुताका कारण शिखरवार्तामा बस्न अनुपयुक्त महसुस’ गरेको जनाउँदै वार्ता भंग गरेका हुन्।
‘म सिंगापुरमा तपाईंको साथमा हुने समयको प्रतीक्षामा थिएँ। दुःखको कुरा पछिल्लो समय तपाईंका भनाइहरुमा अभिव्यक्त भएको भयंकर आक्रोश र खुला शत्रुताका कारण यो समय योजनाबद्ध रुपमा हुन गइरहेको वार्तामा बस्न मैले अनुपयुक्त महसुस गरेँ,’ ट्रम्पले पत्रमा लेखेका छन्। ‘त्यसैले सिंगापुर शिखरवार्ता नहुने कुरा यसै पत्रमार्फत जानकारी गराउँछु।’
ट्रम्पको सो पत्र ह्वाइटहाउसले बिहीबार सार्वजनिक गरेको छ। बिहीबार नै उत्तर कोरियाले ६ पटक आणविक हतियार परीक्षण गरेको स्थान ध्वस्त पारेको छ।
केही दिनयता अमेरिकी उच्च अधिकारीहरुले उत्तर कोरियाको आणविक निशस्त्रीकरण ‘लिबिया मोडल’ अनुसार हुनुपर्ने अभिव्यक्ति दिएपछि उत्तर कोरिया रिसाएको थियो।
यसै विषयलाई लिएर आक्रोशित उत्तर कोरियाले पहिले ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र बिहीबार मात्रै उपराष्ट्रपति माइक पेन्सको तीखो आलोचना गरेको थियो।







