मेरिकासँग शिखर वार्ताका लागि तयारी गरिरहेको उत्तर कोरियाले आफ्नो सैनिक नेतृत्व फेरबदल गरेको छ । १२ जुन अर्थात् एक सातापछि हुने अमेरिकासँगको वार्ताअघि गरिएको यस्तो फेरबदललाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ लिएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई पदबाट हटाउँदै तल्लो वरीयताका सैन्य अधिकारीको बढुवा गरेका छन् । रक्षामन्त्री एवं सैन्य प्रमुख पाक यङ सिकको सट्टामा किमले प्रथम सहायक रक्षामन्त्री नो क्वाङ चोललाई जिम्मेवारी सुम्पिएका छन् ।

त्यस्तै, सेनाको चिफ अफ जनरल स्टाफ री म्योङ सुको सट्टामा री यङ गिलले जिम्मेवारी पाएका छन् । यसअघि उत्तर कोरियाली सञ्चारमाध्यमहरूले सेनाका राजनीतिक ब्युरो प्रमुखमा किम जोङ गाकको सट्टा किम सु गिल नियुक्त भएको समाचार सार्वजनिक गरेका थिए ।

उत्तर कोरियाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । त्यस्तै, रक्षामन्त्रीसहित उच्चस्तरीय सैनिक अधिकारीहरूलाई किन हटाइयो भन्ने विषयमा थप खुलासा भएको छैन । उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ । यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता किम जोङ उन नै हुन् । उनले आफ्ना विश्वासपात्रलाई सैनिक प्रमुखमा नियुक्त गर्दै आएका छन् । अहिले ल्याइएका सेनाका अधिकारीहरू उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ ।

सेनाभित्रैबाट वार्ताको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निशस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता नगर्न सेनाभित्रैबाट दबाब आएको समाचार यसअघि सार्वजनिक भएको थियो । त्यसैले सेनाको एक समूहले नै वार्ताको विरोध वा विद्रोह गर्न सक्ने त्रासका कारण नेता किमले नेतृत्वमा व्यापक फेरबदल गरेको हुन सक्ने अनुमान लगाइएको छ ।

उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ मान्दै आएका छन् । त्यसैले पनि सेनाका केही अधिकारी प्रस्तावित वार्ताको विपक्षमा थिए । पछिल्लो समयमा नेता किम अमेरिकाप्रति नरम देखिएका छन् । उत्तर कोरियाले शिखर वार्ताका लागि तीव्र तयारी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तोकिएको मितिमै सिंगापुरमा शिखर बैठक हुने बताउँदै आएका छन् ।

दक्षिण कोरियाको चासो

दक्षिण कोरियाले किम जोङ उनको कदमलाई चासोका साथ हेरेको छ । वार्ताकै मुखमा सैनिक नेतृत्वमा देखिएको यस फेरबदललाई चनाखो भएर नजिकबाट नियालिएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लुहाउसले जनाएको छ । ‘उत्तर कोरियाभित्रको शक्तिशाली सेनाको फेरबदललाई हामीले नजिकबाट हेरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ । ‘यसको प्रभाव आगामी वार्तामा के हुन सक्ला भन्नेबारेमा पनि व्यापक परामर्श गरिरहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सोमबारै दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सोमबार बिहान टेलिफोन गरेका हुन् । सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताका विषयमा उनीहरूबीच टेलिफोनमा छलफल भएको हो ।

 दुवै देशका अधिकारी सिंगापुरमा

शिखर वार्ताको तयारीका लागि कोरियाली र अमेरिकी उच्च अधिकारी सिंगापुरमा छन् । उत्तर कोरियाली रक्षा विभागका एक उच्च अधिकारी र अमेरिकी विदेश मन्त्रालयका एक अधिकारी सोमबार सिंगापुर पुगेको जापानी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

यसअघि पनि गत हप्ता मात्र उनीहरू वार्ताको पूर्वतयारीका लागि भन्दै सिंगापुर पुगेका थिए । यसपटक त्यहाँ पुगेका अधिकारीहरूले आगामी वार्ताका एजेन्डाबारे सामान्य रूपमा पूर्वतयारी गर्ने र त्यसबारेमा आ–आफ्नो देशका शीर्ष नेतृत्वलाई जानकारी गराउने कार्यक्रम छ ।

शिखर वार्ताको समन्वय सिंगापुरको विदेश मन्त्रालयले गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार