नेपालखबर संवाददाता ।
बेइजिङस्थित अमेरिकी दूतावासबाहिर बिहीबार दिउँसो विस्फोट भएको छ।

विस्फोटपछि धुवाँको मूस्लो देखिएको तस्विरहरू सामाजिक संजालमा आइरहेका छन्। दूतावासका एक कर्मचारीले विस्फोटको आवाज सुनिएको र धुवाँको मूस्लो देखिएको बताए पनि घटनाको विस्तृत विवरण खुलाउन चाहेनन्।
बेइजिङको उत्तरपश्चिममा पर्ने सानलुटिन क्षेत्रमा अमेरिका, नेपाल लगायत सबै दूतावासहरू छन्। विस्फोट भएको क्षेत्रमा प्रहरीहरू देखापरेको साउथ चाइना मार्निङ पोष्टले जनाएको छ।
अमेरिकी दूतावासले आफ्नो कार्यालय अगाडि विस्फोट भएको पुष्टी गर्दै घटनामा आफ्ना कोही पनि कर्मचारी घाइते नभएको जनाएको छ। दूतावासका प्रवक्ताले त्यहाँ एक विस्फोटक यन्त्र विस्फोट गराइएको र त्यो विस्फोट गराउने व्यक्ति मात्र घाइते भएको सीएनएनलाई बताएका छन्।
दूतावास नजिकै काम गर्ने एक व्यक्तिले दिउँसो १ः०५ बजे विस्फोट भएको बताएका छन्। घटना लगत्तै एक ट्वीटर प्रयोगकर्ताले बेइजिङस्थित भारतीय राजदूतलाई उद्धृत गर्दै विस्फोटको पुष्टी गरेका छन्।
‘हामी नजिकै अर्को गेटमा छौं र हामीले विस्फोट भएको सुन्यौं, यो सामान्य खालको विस्फोट हो र सबै भारतीयहरू सुरक्षित छन्’, ट्वीटमा भारतीय राजदूतलाई उद्धृत गर्दै भनिएको छ।
चीनको सरकारी पत्रिका ग्लोवल टाइम्सले अमेरिकी दूतावास नजिकैबाट पेट्रोल छर्केर आगो लगाइ आत्मदाहको प्रयास गर्न खोज्ने एक जना महिला पक्राउ परेको तर यो विस्फोटको घटनासँग सम्बन्धित भए नभएको यकिन नभएको जनाएको छ।







